२०८१ जेठ ४ , शुक्रवार

अदालतको सेवालाई चुस्तदुरुस्त बनाउनुस् : कामु प्रधानन्यायाधीश श्रेष्ठ

सुनाखरी न्युज/ काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतबाट हुने सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त दुरुस्त एवं सेवाग्राही मैत्री बनाउन निर्देशन दिनुभएको छ ।

उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश र काठमाडाँै, ललितपुर र भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश एवं उच्च अदालतका रजिष्ट्रार र जिल्ला अदालतका स्रेस्तेदारहरूलाई आज आफ्नो कार्यकक्षमा बोलाएर उक्त निर्देशन दिनुभएको हो ।

कामु प्रधानन्यायाधीश श्रेष्ठले अदालतमा हुने अनावश्यक भीड नियन्त्रण गर्न र विकृतिजन्य क्रियाकलाप हुन नदिनका लागि अदालतको प्रवेशमा नियमन र व्यवस्थापन गर्न निर्देशन दिनुभयो । “अदालतका नियमित प्रयोगकर्तालाई पास वितरण गर्ने र अनावश्यकरूपमा अदालत प्रवेश गर्ने व्यक्तिहरूलाई निषेध गर्न कडाइका साथ पालना गर्नुस्”, भेटमा उहाँले भन्नुभयो, “अदातलको काम कारबाही तोकिएको समयभित्र सम्पादन गर्न, सेवाग्राहीलाई समयभित्र सेवा दिन र अदालत परिसरमा लामो समयसम्म भीडभाडको अवस्था आउन नदिन समय कार्ड लागू गर्नुस् ।”

सबै अदालतहरूमा विचाराधीन दुई वर्ष पुराना मुद्दाको शीघ्र फर्छ्योट अभियानका रूपमा कार्य सञ्चालन गर्न र अदालतबाट जारी भएका म्यादहरू पत्ता नलागेको (बेपत्ते तामेल) तामेल हुने क्रम बढाउन निर्देशन दिनुभयो । अदालतमा लिने जमानतलाई वस्तुपरक, व्यवस्थित र पारदर्शी बनाउन र एकरूपता कायम गर्नुपर्ने उहाँको भनाइ थियोे ।

मुद्दाको अनलाइन दर्ता गर्ने तथा पेशी तारेखको अटोमेसन गर्ने कार्य छिट्टै सुरु गरिने बताउँदै सो कार्यका लागि पनि तयारी अवस्थामा रहन सबैलाई निर्देशन दिनुभयो । अदालतमा लागू रहेको फरक मुद्दा व्यवस्थापन पद्धतिको प्रभावकारी कार्यान्यवनमा जोड दिनुपर्ने र हाल अदालतमा प्रयोगमा रहेको एसएमएस सेवा र अनलाइन तारेख प्रणालीलाई पनि थप व्यवस्थित र प्रभावकारी बनाउन उहाँले निर्देशन दिनुभयो ।

साथै, अदालतमा अभियोगपत्र साथ दशीको रूपमा पेश भएका सम्पत्तिको आवश्यक व्यवस्थापन गर्न र फैसलाबमोजिम जफत हुने ठहरेका सम्पत्तिको लगत तयार गरी त्यस्ता सम्पत्तिको जफतका लागि आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा उच्च अदालतका माननीय कामु मुख्यन्यायाधीश, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, रजिष्ट्रार, सहरजिष्ट्रार एवं तीनवटै जिल्ला अदालतका जिल्ला न्यायाधीशहरू, उच्च अदालतका रजिष्ट्रार तथा जिल्ला अदालतका स्रेस्तेदारहरू उपस्थित हुनुहुन्थ्यो । रासस