२०८१ जेठ ५ , शनिवार

सामाखुसी खोलाको सतह माथि रहेको संरचना कहाँसम्म हटाउँदै छ काठमाडौं महानगरपालिका ?

Samakhushi

सुनाखरी न्युज/ काठमाडौं ।

सामाखुशी नदीमाथि बनाएको कंक्रिट ढलान (स्ल्याब) सहितको संरचना  काठमाडौं महानगरपालिकाले  धमाधम हटाउन थालेको छ । बसुन्धराबाट रेर्डन क्याम्पससम्म सामाखुशी खोला माथि रहेको संरचना हटाइरहेको हो ।

खोलामाथिको संरचना हटाउने काम यो हप्ताभित्र सकाउने गरी काम गरिरहेको महानगरले जनाएको छ । ‘सामाखुसी खोला सतहमाथिको संरचना हटाउने अभियान मैह्पी मन्दिर स्थित विष्णुमती नदी जोड्ने ठाउँसम्म पुर्‍याउने छौं,’ संरचना हटाउने जिम्मेवारीको नेतृत्व लिएका नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट भन्छन् ।

 

भट्टका अनुसार करिब साढे २ किलोमिटर सामाखुसी खोलामाथि रहेको कंक्रिट ढलानको संरचना हटाइसकेको छ । ‘अब ५ सय मिटरजति हटाउन बाँकी होला, त्यो पनि यो हप्ताभित्र हट्छ,’ भट्टले भने ।

महानगरपालिकाले चालु आवको बजेट तथा कार्यक्रममा महानगर भित्र रहेको खोला, खोल्सीको संरक्षण गर्ने नीति पास गरेको भन्दै कार्यान्वयन सुरु भएको प्रवक्ता नवीन मानन्धरले बताए ।

 

महानगरका अनुसार खोलाको बीच भागबाट १३-१३ फिट फराकिलो बनाएर सामाखुसीमा सफा पानी बगाउने योजना रहेको छ । ‘महानगरका नदिहरु आफ्नै स्वरुपमा बगाउन यो काम सुरु गरेका हौं । खोलामा ढल नमिसाउन, छुट्टै ढल र करिडोर निर्माण गर्ने हाम्रो योजना छ, पहिलो चरणमा खोला माथिको संरचना हटाएका हौं,’ मेयर बालेन्द्र साह (बालेन)का पूर्वाधार सल्लाहकार सुनिल लम्साल भन्छन् ।

उनले खोला मिचेर बनाएको संरचना हटाएर करिडोर निर्माण गर्ने र ढल निर्माण गरेर प्रशोधन केन्द्रमा लैजाने तयारी समेत गरेको बताए ।