२०८१ बैशाख २१ , शुक्रवार

बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न एकसट्ठी करोड डलर विनियोजन

usd

सुनाखरी न्युज/ काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सङ्गठन विभागले बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न ६१ करोड ७० लाख अमेरिकी डलर विनियोजन गरेको छ ।

उक्त चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका सदस्यबाट सदस्यता शुल्कबापत सङ्कलन गरिएको हो । केन्द्रीय समितिको सङ्गठन विभागले सदस्यता रकम व्यवस्थापनका साथै कोष सञ्चालन गर्दै आएको छ ।

विभागले बाढी नियन्त्रण तथा विपद् व्यवस्थापन, पीडित परिवारलाई सहयोग, सर्वसाधारणको जीवन र सम्पत्तिको सुरक्षा, समग्र सामाजिक स्थायित्वको सुनिश्चितताका निम्ति सहायता रकम प्रदान गरेको हो । विभागले पार्टीका सबै तहका कार्यकर्तालाई नागरिक सुरक्षा सुनिश्चित गर्न आग्रह पनि गरेको छ ।

केन्द्रीय समितिको सङ्गठन विभागले अग्रपङ्क्तिमा काममा खटिएका तथा बाढीबाट गम्भीर समस्यामा परेकालाई तत्काल सहयोग हुने गरी कोष विनियोजन गर्नुपर्नेमा जोड दिएको छ ।

गत शनिबारदेखि ती स्थानमा परेको अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ भने बाढीको चपेटामा परेका सर्वसाधारण राहतको प्रतीक्षामा रहेका फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ । एक सय ४० वर्षपछि देशमा यति भीषण वर्षा भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् ।

बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा लगातार ४० घण्टा ७४४ दशमलब आठ मिलिमिटर वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो ।

बाढीपहिरामा परी कम्तीमा २० जनाले ज्यान गुमाएका छन्भने केयौँ घाइते भएका छन् । वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सय जना विस्थापित भएका छन् । रासस