२०८१ बैशाख ३० , आइतवार

एक्काइस प्रतिशतले निकासी घट्यो

Sunakhari2

सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले निर्यात प्रवद्र्धनका लागि सहजीकरण गरिरहेको भए पनि निर्यात लगातार घट्दो छ । आर्थिक वर्ष २०७९÷८० मा नेपालको कूल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको छ । गत आवमा रु एक खर्ब ५७ अर्बको वस्तु निकासी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले कूल पैठारीमा १६ दशमवल एक प्रतिशतले ह्रास आएको जानकारी दिनुभयो । गत आवमा रु १६ खर्ब ११ अर्बको वस्तु आयात भएको थियो । गत आवमा नेपालको कूल वैदेशिक व्यापारमा पनि गिरावट आएको छ । सो आवमा कूल रु १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ६ प्रतिशतले कमी हो ।

“गत आवको प्रारम्भिक तथ्याङ्कअनुसार कूल व्यापारमा आठ दशमलव नौ प्रतिशत निकासी र ९१ प्रतिशत पैठारीको योगदान छ”, उहाँले भन्नुभयो, “समीक्षा अवधिमा नेपालको कूल निकासी २१ दशमलव चार प्रतिशतले ह्रास आएको छ ।”

आव २०७८÷७९ मा निकारी पैठारी व्यापारको अनुपात १ः९.६ रहेकामा गत आवमा सो अनुपात १ः१० पुगेको सचिव मरासिनीले जानकारी दिनुभयो । उहाँले व्यापार सन्तुलनका लागि व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ र नेपाल व्यापार एकीकृत रणनीति, २०८० को कार्यान्वयनका लागि सरोकारवाला निकायका सचिवसँग छलफल गरिएको बताउनुभयो । उद्योगमन्त्रीको अध्यक्षतामा बोर्ड अफ ट्रेडको बैठक सम्पन्न भई नेपालको निर्यात व्यापार प्रवद्र्धनका सम्बन्धमा महत्वपूर्ण निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
रासस