२०८१ बैशाख १५ , शनिवार

मौद्रिक नीतिले अर्थतन्त्र चलायमान गराउँछ अर्थमन्त्री डा महत

सुनाखरी न्युज  / काठमाडौं –  अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताउनुभएको छ । मौद्रिक नीतिले ब्याजदर घटाउने नीति लिएकाले निजी क्षेत्र प्रवाह हुने लगानी बढ्ने उहाँको भनाइ छ । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा महतले ब्याजदर कम भएपछि लगानी बढ्ने र रोजगारीमा पनि वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

 

मन्त्री महतले चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी सरकारले योजना बनाएको बताउँदै पुँजीगत क्षेत्रको खर्च बढाउनका लागि समयमै ठेक्का लगाउनुपर्नेमा जोड दिनुभयो । “मौद्रिक नीतिले नीतिगत दर घटाएर छ दशमलव पाँच प्रतिशत तोकेको छ, यसले बैंक ब्याजदर स्वतः खुकुलो हुन्छ र बजारमा पुँजी प्रवाह बढ्छ, यसले गर्दा सुस्ताएको अर्थतन्त्र अब चलायमान हुन्छ”, उहाँले भन्नुभयो । अर्थमन्त्री डा महतले देश विकासलाई प्रमुख प्राथमिकतामा राखेर सरकार अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । उहाँले पुँजीगत खर्चलाई बढाउने वित्तिकै आर्थिक क्षेत्रले सुधारको बाटो लिनेमा विश्वास व्यक्त गर्नुभयो ।

 

उहाँले आफ्नै सक्रियताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन बरामद गर्न सफल भएको समेत बताउनुभयो । सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेपछि तस्करीको सुन बरामद भएको बताउँदै अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने प्रतिबद्धता जनाउनुभयो । नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री महतले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्दा पारदर्शिता कायम भएको भन्दै यथार्थ कुरा बाहिर आएको बताउनुभयो । पार्टीभित्रका धेरै भ्रम प्रत्यक्ष प्रसारणले उजागर गरेको उहाँको भनाइ छ । रासस