२०८२ चैत्र २ , सोमवार

अपडेटः बाँकी प्याकेजमा भेटिएन सुन

सुनाखरी न्युज/ काठमाडौँ ।

क्याथे पासेफिकको विमानबाट आएका बाँकी प्याकेजहरुमा पनि सुन हुनसक्ने आशङ्कामा राजश्व अनुसन्धान विभागको टोलीले जाँच गरेको छ । यद्यपि, ती प्याकेजहरूमा सुन भने फेला नपरेको विभागले जनाएको छ ।

करिब १ सय किलो अवैध सुन भित्र्याएको रेडी ट्रेड प्रालिले नै मगाएको अर्को खेप सामान रहेको सूचनामा विभागको टोली त्रिभुवन विमानस्थल भन्सार कार्यालय आइपुगेको थियो । यद्यपि, विमानबाट अन्य कम्पनीको नाममा आएका सामानहरू भेटिएको हो ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार सो विमानबाट ३६ वटा प्याकेज आएका थिए । कार्यालयमा १३ वटा प्याकेज बाँकी रहेका थिए । ‘अपरेसन गर्दा केही पनि फेला परेन,’ पौडेलले भने । गोदाममा अन्य सामानको पनि चेकजाँच गर्ने तयारी गरिएको छ ।

यसअघि, विभागकै टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो समातेको थियो ।