उजाड शिशिर / पोखरा । नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व आदिकवि भानुभक्त आचार्यको २१० औ जन्मजयन्तीको अवसरमा शुक्रबार पोखरामा ¥याली र सभा आयोजना गरिएको छ ।
पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकबाट सुरु भएको ¥यालीमा कलाकार, साहित्यकार, पत्रकार, विद्यार्थी, सुरक्षाकर्मी, नागरिक समाज र आमा समूह लगायत आम पोखरेलीहरुको बाक्लो उपस्थिति रहेको थियो । भानु वाङ्ममय प्रतिष्ठान, पोखराको आयोजना तथा पोखरा प्रज्ञा प्रतिष्ठान, भानुमार्ग टोल विकास संस्था र भानुमार्ग ‘क’ आमा समूहको सहआयोजनामा उक्त मूल समारोह भएको थियो ।
¥याली महेन्द्रपुल, रानीपौवा हुँदै फूलवारी स्थित भानु मार्गमा रहेको भानुको प्रतिमास्थलमा पुगी कोणसभामा परिणत भएको थियो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतको उपस्थितले सो अवसरमा भानुको प्रतिमामा माल्यार्पण गरेका थिए । सभालाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भानुभक्तको पुर्ण कदको शालिक निर्माण हुने भएकोले यसको जिम्मेवारी भानु वाङ्ममय प्रतिष्ठानले जिम्मा लिन आग्रह गरे । भानुभक्तले समाजको विकृत पक्षलाई उजागर गर्दै रामायण र भाषाका माध्यमबाट नेपाली समाजलाई एकताबद्ध गर्न योगदान गरेको बताए ।
सो अवसरमा भानु वाङ्मय पुरस्कारबाट पृथ्वीनारायण क्याम्पस पोखरा नेपाली विभागमा स्नातकोत्तर तर्फ सर्वोत्कृष्ट अंक ल्याउने लक्ष्मी नेपालीलाई सम्मानित गरिएको थियो । समाजसेवी एवं पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईद्वारा स्थापित तथा भानु वाङ्मय प्रतिष्ठानद्वारा संचालित उक्त पुरस्कारको राशि १० हजार रुपैयाँ र सम्मानपत्र रहेको थियो । विद्यार्थीको हौसला बढाउन आफूले पुरस्कार स्थापना गरेको भट्टराईले सो अवसरमा जानकारी दिए । भाषा, संस्कृति र धर्मको रक्षाका लागि सबै नेपाली लाग्नुपर्ने बताउँदै उनले बढी राजनीति र झगडा भन्दा विकास र स्वरोजगारतर्फ नेपालीको ध्यान हुनुपर्ने सुझाव राखे ।
कार्यक्रममा पद्मराज ढकाल,पृथ्वीनारायण क्याम्पस पोखरा नेपाली विभागका प्रमुख प्राडा कुशुमाकर न्यौपानेले भनाइ राखेका थिए । यसैगरी पोखरा–११ का वडाअध्यक्ष प्रेमप्रसाद कर्माचार्य, आयोजक संस्थाका उपाध्यक्ष हनिफ मिया, भानुमार्ग ‘क’आमा समूहकी मीठुदेवी गुरुङले पनि बोलेका थिए । भानु वाङ्मय प्रतिष्ठान, पोखराका अध्यक्ष एव नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको अध्यक्षतामा भएको कार्यक्रम आयोजक प्रतिष्ठानका सचिव अम्विका प्रसाद भट्टराईले संचालन गरेका थिए ।
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिएका भानुभक्त आचार्यको विस १९२५ असोज ६ गते निधन भएको थियो ।