२०८१ बैशाख २२ , शनिवार

नवनिर्वाचित सिएनआई पदाधिकारी–एमाले अध्यक्षबीच अर्थतन्त्रको विषयमा छलफल

सुनाखरी न्युज/ काठमाडौं । नवनिर्वाचित पदाधिकारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको पदाधिकारीहरुले विद्यमान अर्थतन्त्र एवं समाधानका उपायका बारेमा छलफल गर्नुभएको हो ।

उक्त छलफलमा नवनिर्वाचित अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्र सुधारका लागि सबै राजनीतिक दलहरुको मुख्य एजेण्डा आर्थिक मुद्धा बन्नुपर्ने बताउनुभयो । अर्थतन्त्र सुधारका लागि आर्थिक विषयहरुलाई प्राथमिकतामा राखेर निकास दिनुपर्नेमा उहाँले जोड दिनुभयो । अर्थतन्त्रलाई चलायमान बनाउँदै लक्षित आर्थिक बृद्धि हासिल गर्न एवं निजी क्षेत्रको मनोबल बढाउन आगामी मौद्रिक नीति लचिलो हुनुपर्ने उल्लेख गर्नुभयो । जलविद्युत आयोजनाको पीपीए खुला गरिनुपर्ने, सार्वजनिक निजी साँझेदारीमा पूर्वाधार क्षेत्रको विकास गरिनुपर्ने, भूतप्रभावी कर नीति हुन नहुने, ठूला उद्योग तथा व्यवसायिक कृषिका लागि जग्गा हदबन्दी हुन नहुनेमा उहाँले जोड दिनुभयो ।

सो अवसरमा पुर्व प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै अर्थतन्त्रका विषयमा आफूले कुरा राख्दै आएको बताउनुभयो । प्रधानमन्त्री हुँदा वा नहुँदा आर्थिक क्षेत्रको सुधार, विकासका लागि बोल्दै आएको भन्नुहुँदै उहाँले अर्थतन्त्रका विषयलाई आफूले प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।
उक्त भेटमा निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा सहभागी हुनुहुन्थ्यो ।