२०८१ जेठ ६ , आइतवार

एमाले नेतृत्वमा बनेको कोशीको सरकार ढल्यो

सुनाखरी न्युज/ विराटनगर ।
एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा शुक्रबार विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो । २०७९ मंसिरमा भएको प्रदेश सभा चुनावपछि पुस २४ मा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्राप्त दलको नेताको हैसियतमा कार्की पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

 

एक महिनाअघि सत्ता गठबन्धनमा रहेको माओवादी र जसपाले एमाले सरकारलाई दिएको फिर्ता लिएपछि कार्कीले शुक्रबार प्रदेशसभामा विश्वासको मतको प्रस्ताव राखेका थिए । शुक्रबार भएको मतदानमा कार्कीले ९३ सदस्यीय प्रदेश सभामा बहुमतका आवश्यक पर्ने ४७ मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको हो । प्रदेशसभामा शुक्रबार उपस्थित ८९ सांसदमध्ये विश्वासको मतको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको थियो । जनता समाजवादी पार्टीकी प्रदेश सांसद निर्मला लिम्बूका साथै प्रतिपक्षी दलका थप दुई गरी तीन जना प्रदेश सांसद अनुपस्थित रहे ।

विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा बिहीबार सत्तापक्ष र विपक्षी दलका नेताहरूले छलफलमा भाग लिएका थिए ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद मुख्यमन्त्री कार्कीको पक्षमा छन् । कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ गरी ४६ सांसद छन् । एक सांसद मात्र रहेको जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरिसकेको छ ।