२०८१ बैशाख २० , बिहिवार

समलिंगी विवाह दर्ता गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

सुनाखरी न्युज/ काठमाडौं ।

सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मंगलबार  समलिंगी विवाह गर्ने जोडीहरुले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन आवश्यक व्यवस्था गरिदिन अन्तरिम आदेश जारी गरेको हो ।

समलिंगी विवाह दर्ता गर्न नेपालको कानुन बाधक रहेको भन्दै ब्लु डायमन्ड सोसाइटीको तर्फबाट अध्यक्ष पिंकी गुरुङसहित ७ जनाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उनीहरुले विवाह दर्तासम्बन्धी मुलुकी देवानी संहिता २०७४ मा रहेको व्यवस्था संशोधनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेतलाई विपक्षी बनाई रिट दिएका थिए ।

सर्वोच्च अदालतले मुलुकी देवानी संहिता २०७४ को दफा ६९ (१) ले प्रत्येक व्यक्तिलाई विवाह गर्ने स्वतन्त्रता दिएको र नेपालको संविधानको धारा १८ (१) ले सबै नागरिकलाई कानुनको दृष्टिमा समान हुने व्यवस्था गरेहेको स्मरण गराएको छ ।

 

सर्वोच्चको फैसलापछि तत्कालिन स्वास्थ्य सचिवको नेतृत्वमा बनेको समितिले समलिंगी विवाहलाई कानुनी मान्यता दिन उपयुक्त हुने सुझाव दिएको थियो । तर उक्त समितिको सुझावपछि पनि सरकारले समलिंगी विवाहलाई मान्यता दिने गरी कानुन नबनाएपछि समलिंगी तेस्रोलिंगी समुदाय अदालत गएका हुन् ।