२०८१ बैशाख २० , बिहिवार

नक्कली बिल बनाएर राजस्व छली गरेको आशंकामा विमानस्थल भन्सारका ४२ कर्मचारी अनुसन्धानको दायरामा

tia

सुनाखरी न्युज/ काठमाडौं ।

नक्कली बिल बनाएर भन्सारका कर्मचारीकै संलग्नतामा  भन्सार छली गर्ने गरिएको खुलेको छ । यस्तो कार्यमा संलग्न भएको आरोपमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका ४२ जना कर्मचारीमाथि अनुसन्धान थालेको छ ।

विदेशबाट नेपाल आयात भएका वस्तुको भन्सार जाँचपास गर्दा नक्कली बिल पेश हुँदा त्यसैका आधारमा ती कर्मचारीहरुले भन्सार जाँचपास गरिदिएको रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।

भन्सार छलीका लागि व्यापारीको मिलोमतोलाई सहयोग पुर्याउने गरी करोडौं राजस्व छलिएको आशंकामा अनुसन्धान भइरहेको विभाग स्रोतले जानकारी दियो । यो विषय अनुसन्धानकै क्रममा रहेको भन्दै संलग्न कर्मचारीको नाम र छलिएको राजस्व रकम खुलाउन भने विभागले अस्वीकार गरेको छ । नक्कली बिल खडा गर्ने आयातकर्ताको बदमासीलाई सहयोग गर्नेमा नासुदेखि अधिकृत तहसम्मका कर्मचारी संलग्न रहेको देखिएको विभागले जनाएको छ ।

विभागका अनुसार ५२ वटा प्रज्ञापन पत्रमार्फत फरक फरक आयात भएका वस्तुमा नक्कली बिल प्रयोग भएको थियो । विमान कम्पनीले वस्तु आयातमा जारी गर्ने बिललाई च्यातेर भन्सार छली गर्न फोटोकपी गरेर नक्कली बिल बनाइएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

यस्तो गर्दा वस्तुको भन्सार मूल्यांकनकै बेला कम मूल्यांकन भई राजस्व गुमेको हो ।

यस कार्यमा संलग्नहरुको सूची तयार गरेर गत हप्ता राजस्व अनुसन्धान विभागले बयानका लागि समन्वय गरिदिन भन्सार विभागलाई पत्राचार समेत गरिसकेको छ । राजस्व अनुसन्धान विभागका अनुसार यो प्रकण संगठित रुपमा भएको हो वा व्यक्तिगत भन्ने दृष्टिकोणबाट पनि अध्ययन भइरहको छ ।

भन्सार विभागले भने राजस्व अनुसन्धान विभागको अनुसन्धान प्रक्रियाबारे औपचारिक जानकारी नभएको जनाएको छ ।