२०८१ बैशाख २५ , मंगलबार

मलाई निर्देशक बन्ने रहर थिएन : अभिनेता खनाल

सुनाखरी न्युज/ काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रा पश्चात् निर्देशक बन्दै हुनुहुन्छ । उहाँले सुरुआतमा छोटो चलचित्र निर्देशनको योजना बनाउनुभको थियो । तर पछि खनाललाई विषयवस्तुले ठूलो पर्दाको चलचित्रको निर्देशक बनायो । चाँडै नै उहाँको परिचयमा निर्देशक थपिँदैछ ।

योजना बनाएर चलचित्र निर्देशनको यात्रा प्रारम्भ नगरेको अभिनेता खनाल बताउनुहुन्छ । “मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ सङ्ग्रहित कथामध्ये एउटा बगान थियो । त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आमदर्शक र समाजसम्म पु¥याउनुपर्छ भन्ने लाग्यो”, उहाँले भन्नुभयो, “यो कथा ममार्फत नै भन्नुपर्छ भनेर निर्देशन गरे । मलाई छायाङ्कनकै समयमा कसैले निर्देशकभन्दा निकै अप्ठ्यारो हुन्थ्यो ।”

आफूलाई कथा वाचक भन्न रुचाउने अभिनेता खनालले चलचित्रमा आफूभन्दा वरिष्ठ कलाकार नै बढी राख्नुभयो । किनकी उहाँहरू अभिनयमा पोख्त हुनुका साथै चरित्रअनुसार उपयुक्त हुनुहुन्थ्यो । तर, उहाँहरूलाई निर्देशन गर्न अभिनेता खनाललाई सहज भने थिएन । “मैले छायाङ्कनका क्रममा कुनै पनि कलाकारलाई अभिनय गरेर केही बताएन । केबल चरित्र र दृश्यलाई सम्झाए”, अभिनेता खनालले भन्नुभयो, “नीर राजा (नीर शाह) लाई मैले अलिकति फरक चाहिएको भनेर भूमिका बुझाए । उहाँ आफैँले विभिन्न चरित्र देखाएपछि मैले चाहेको यो हो भने, यसरी हामीले छायाङ्कन सकेका थियौँ ।”

सयौँ चलचित्रमा अभिनय गरिसक्नुभएका अभिनेता खनालले चलचित्रमा स्टार कलाकारभन्दा पनि विषयवस्तु महत्वपूर्ण हुनुपर्ने बताउनुभयो । त्यसैले उहाँले एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वलाई चलचित्रमा प्रस्तुत गर्नुभएको छ । आफैँले धेरै चलचित्रमा सहकार्य गर्नुभएको अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको भूमिकामा प्रस्तुत गर्नुभएको छ ।

“अघिल्ला चलचित्रमा अभिनेत्री मानन्धरको सुन्दरतामा धेरै चर्चा गरियो वा केन्द्रित भइयो । यद्यपि यसमा उहाँको सुन्दरता अभिनयमार्फत व्यक्त भएको छ । साथै नयाँ अभिनेत्री प्रमिला कार्कीले पनि आफूलाई अब्बल सावित गर्नुभएको छ”, उहाँले भन्नुभयो । चलचित्रको कथालाई नजिकबाट महसुस गरेको खनालको भनाइ छ । चलचित्रमा देखाइएको एकल महिलाले समाजमा गर्नुपरेको सङ्घर्षलाई आफ्नै परिवारमा देखेको खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो मामाकी छोरीको श्रीमान् बित्नुभएपछि एकल महिला बनिन् । त्यसपछि उनको जीवनशैली नै फेरियो । ती बहिनी एक्लो भएको मैले महससु गरेँ”, उहाँले भन्नुभयो, “बाहिरी रमाइलोमा उनको शरीर उपस्थित भए पनि मन खुसी थिएन । केही वर्ष अगाडि उनको पुनःविवाह भएपछि अहिले उनलाई छुट्टै पाउँछु । ती बहिनी बल्ल जीवन बाँचेकी छिन् ।”

त्यही कथालाई पुस्तकमा पाएपछि खनाल आफैँले निर्देशन गर्ने योजना बनाउनुभयो । आउँदा दिनमासमेत सामाजिक विषयवस्तुलाई ठूलो पर्दामा ल्याउने उहाँको योजना छ । यद्यपि खनालले कलाकारितालाई पनि सँगै अगाडि बढाउने जानकारी दिनुभयो । चलचित्र ‘बगान’ मा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायतका कलाकारले अभिनय गर्नुभएको छ । स्वप्न नीरवको कथामा तयार भएको उक्त चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफ एक्स तथा रेनिश फागोले रङ्ग संयोजन गर्नुभएको छ । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ । रासस