२०८३ जेठ ७ , बिहिवार

काठमाडौंको पूर्वाधार निर्माणमा एक तिहाइ बजेट, धुलोधुवाँ मुक्त हरियाली शहर वन्ला त काठमाडौं महानगर ?

सुनाखरी न्युज/ काठमाडौं ।

आगामी आर्थिक वर्ष  ०८०-८१ को बजेटमा  काठमाडौं महानगरपालिकाले शहरी सान्दैर्यको पूर्वाधारलाई प्राथमिकता दिएको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा ठूलो रकम शहरी सौन्दर्यका पूर्वाधारमा छुट्याइएको हो ।

 

महानगरले आगामी आवका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट ल्याएको छ । चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख अर्थात ३३.७२ प्रतिशत र पूँजीगत तर्फ १६ अर्ब ९३ करोड २४ लाख अर्थात ६६.२८ प्रतिशत बजेट ल्याएको हो ।

 

बजेटमा सडक, रेलिङ, वाल, कार्यालय परिसर, पार्क क्षेत्रलाई सुन्दर बनाउन ‘सुन्दर महानगर योजना’ अन्तर्गत २५ करोड रुपैयाँ विनियोजन भएको छ । महानगरले ‘उज्यालो शहर, मेरो महानगर’ योजनामा सबै सडक तथा गल्लीमा सडक बत्ती र १०० वटा मुख्य चोकमा हाइमास्ट लाइट हाल्न ३० करोड रकम छुट्याएको छ ।

 

महानगरले ल्याएको बजेटमा पूर्वाधारतर्फ मात्रै ७ अर्ब ३४ करोड ६४ लाख विनियोजन गरिएको छ, जुन करिब २९ प्रतिशत हो । यसमध्ये नगर क्षेत्रभित्रका डीपीआर भएका सडक तथा पेटीको मर्मत तथा निर्माण गर्न ‘धुलोरहित काठमाडौं’ योजनालाई १ अर्ब रकम विनियोजन गरेको छ । सडक निर्माण प्रभावकारी बनाउन भन्दै महानगरले आफ्नै आस्फाल्ट प्लान्ट स्थापनासहित पूर्वाधार एम्बुलेन्सको लागि २५ करोड रकम छुट्याएको छ ।

 

यस्तै पूर्वाधार क्षेत्र कार्यक्रमअन्तर्गत नै महानगर क्षेत्रभित्रका प्रमुख सडकहरुमा फाइबर तथा अन्य केबल विस्तारका लागि आफ्नो युटिलिटी डक्ट र सेयर्ड इन्फ्रास्टक्चरका लागि १० करोड बजेट छुट्याइएको छ ।

 

यस्तै महानगरले पैदलयात्रीहरुलाई सहज आवागमन एवम् सडक सुरक्षाका लागि भन्दै १० करोडको कार्यक्रम घोषणा भएको छ । महानगरले सूचना प्रविधि क्षेत्रअन्तर्गत पनि महानगर सुरक्षा र सौन्दर्यमा बजेट राखेको छ । मुख्य सडक, चोक तथा गल्लीमा सर्भिलेन्स क्यामेरा जडान गर्न ‘महानगरले देख्छ’ योजनाका लागि २० करोड रकम छुट्याइएको छ ।