२०८१ बैशाख २१ , शुक्रवार

धमाधम सस्तोमा रुसी तेल किन्दै भारत र चीन, रेकर्डस्तरमा पुग्यो आयात

सुनाखरी न्युज/ काठमाडौं । भारत र चीनले रुसबाट सस्तो कच्चा तेल खरिद गरिरहेका छन्। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को रिपोर्टअनुसार मे महिनामा रुसले आफ्नो कुल निर्यातको ८० प्रतिशत भारत र चीनमा निर्यात गरेको छ।

 

भारत र चीन दुवै विश्वका दुई ठूला कच्चा तेल आयातकर्ता पनि हुन्। कुनै बेला रुसबाट भारतको तेल आयात लगभग शून्य थियो। तर, अहिले यो बढेर प्रतिदिन २० लाख ब्यारेलको रेकर्डस्तरमा पुगेको छ। अर्कोतर्फ चीनको कुरा गर्ने हो भने आयात दैनिक ५ लाख ब्यारेलबाट बढेर २२ लाख ब्यारेल पुगेको छ। रुसबाट भारतको तेल आयात अप्रिल महिनाको तुलनामा १४ प्रतिशतले बढी हो। रुसबाट कच्चा तेल आयातको यो नयाँ रेकर्ड पनि हो। यसअघि रुसबाट सबैभन्दा बढी तेल खरिद गर्ने देश युरोप थियो। रुसले युक्रेनमा गरेको आक्रमणपछि युरोपले रुसबाट तेल किन्न बन्द गरेको छ।

 

अहिले रुसी तेलको ९० प्रतिशतभन्दा बढी एसियाबाट आयात भइरहेको छ।

रुस र युक्रेनबीच युद्ध सुरु भएपछि रुसमाथि आर्थिक प्रतिबन्ध लगाइएको थियो। रुसले पनि सहुलियत दरमा कच्चा तेल बेच्न थालेको छ। भारत र चीनले यो अवसरको फाइदा उठाए। भारत र चीन दुवैले रुसबाट ठूलो परिमाणमा कच्चा तेल खरिद गरिरहेका छन्। गत वर्षको डिसेम्बरमा युरोपेली संघले रुसबाट कुनै पनि प्रकारको सामुद्रिक कच्चा तेल आयातमा पूर्ण रुपमा रोक लगाएको थियो। त्यसको दुई महिनापछि रुसबाट आउने प्रशोधित पेट्रोलियम पदार्थको आयातमा पनि प्रतिबन्ध लगाइएको थियो। अमेरिका र युरोपले लगाएको प्रतिबन्धपछि पनि भारतले रुसबाट सहुलियत मूल्यमा ठूलो परिमाणमा कच्चा तेल खरिद गरिरहेको छ। ब्लुमबर्गको रिपोर्टका अनुसार युरोपेली संघले रुसको पेट्रोलियम उत्पादनमा प्रतिबन्ध लगाएपछि युरोपेली बजारमा भारतको रिफाइन्ड पेट्रोलियम पदार्थको निर्यात लगातार बढेको छ। एजेन्सी