२०८१ बैशाख ४ , मंगलबार

प्रतिव्यक्ति विद्युत् खपतदर ३५१ युनिट

सुनाखरी न्युज/ काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति विद्युत खपतदर ३५० किलोवाट घण्टा (युनिट) नाघेको छ । गत असारसम्म ३२५ किलोवाट घण्टा मात्रै रहेको यस्तो खपतदर गत फागुससम्म ३५१ युनिट पुगेको छ ।

 

आर्थिक सर्वेक्षण २०७९/८०का अनुसार आर्थिक वर्ष २०७८÷७९ को फागुनसम्म ५ हजार ७७२ गिगावाट घण्टा बराबर विद्युत खपत भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ६ हजार ७८९ गिगावाट घण्टा बराबर विद्युत खपत भएको छ । २०७९ फागुनसम्म ९५ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ । गत असारसम्म ९४ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको थियो । सामुदायिक संस्था बाहेक विद्युत उपयोग गर्ने ग्राहकको संख्या २०७९ फागुनसम्म ५२ लाख २० हजार पुगेको छ । २०७९ असारसम्म यस्तो संख्या ५० लाख ६२ हजार थियो । सामुदायिक संस्था अन्तर्गत विद्युत उपयोग गर्ने ग्राहकको संख्या करिव ५ लाख ५० हजार छ । २०७९ फागुनसम्म राष्ट्रिय प्रसारण लाइन (६६ केभी र सो भन्दा माथि) ५ हजार ६६९ सर्किट किलोमिटर पुगेको छ । वितरण लाइन (३३ केभी र सो भन्दा कम) १ लाख ३६ हजार ५ सय ९५ सर्किट किलोमिटर पुगेको छ ।

 

२०७९ असारसम्म प्रसारण लाइन (६६ केभी र सो भन्दा माथि) ४,५७३ सर्किट किलोमिटर तथा वितरण लाइन १ लाख २३ हजार ५ सय ५७ सर्किट किलोमिटर थियो ।चालु आर्थिक वर्षको फागुनसम्म भारतबाट १ हजार ११ गिगावाट घण्टा विद्युत आयात भएको छ भने १ हजार ०५३ गिगावाट घण्टा बराबरको विद्युत निर्यात भएको छ । आर्थिक वर्ष २०७८/७९ मा विद्युतको माग पूर्तिको लागि भारतबाट कुल १ हजार ५४३ गिगावाटघण्टा विद्युत आयात र ४९३ गिगावाटघण्टा विद्युत निर्यात भएको थियो । २०७९ फागुनसम्म प्रसारणतर्फका ४ र वितरणतर्फका ३ गरी ७ सब–स्टेशन निर्माण सकिएर सञ्चालनमा आएका छन् । त्यसैगरी १३२ केभीका विभिन्न प्रसारणलाइनका १०५ सर्किट किलोमिटर विस्तार भएको छ । ग्रिड सव–स्टेशनको क्षमता ७ हजार १४९ एमभीएबाट ८ हजार ०६४ एमभीए पुगेको छ ।