२०८० चैत्र १५ , बिहिवार

नीति तथा कार्यक्रम बोकेर ल्याइएको फाइल नै जव खाली भेटियो…

सुनाखरी न्युज/ मकवानपुर ।

वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेश प्रमुखलाई उपलब्ध गराएको फाइल नै खाली भेटियो । प्रमुख यादवचन्द्र शर्मालाई वाचन गर्न  मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश उपलब्ध गराएको फाइलमा नीति तथा कार्यक्रम नै नभेटिएपछि प्रदेशसभामा केही बेर सबै अलमलमा परे ।

सांसदलाई वितरण गर्नका लागि प्रदेशसभामा ल्याइएको नीति तथा कार्यक्रम मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई उपलब्ध गराएका थिए । मुख्यमन्त्री नीति तथा कार्यक्रम खोज्न हिँडेपछि केही समय सदनभित्र सांसदहरूबीच मुखामुखको अवस्था सिर्जना भएको थियो ।

आइतबार दिउँसो २ बजे बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख शर्माले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सूची रहेको थियो । मुख्यमन्त्री जम्कट्टेलले मानवीय कार्यमा गल्ती हुने भन्दै अवस्था सामान्य बनाउन खोजेका थिए । ‘यो सामान्य प्राविधिक त्रुटि भयो । यो हाम्रो व्यवस्थापकीय कमजोरी हो,’ उनले भने ।

 

प्रतिपक्षी नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीले सरकारले बिनातयारी नीति तथा कार्यक्रम ल्याउँदा भद्रगोलको अवस्था सिर्जना भएको भन्दै आपत्ति जनाएका थिए ।