२०८१ बैशाख १३ , बिहिवार

तामाकोसी पाँचौं जलविद्युत आयोजनाले पनि लगानी जुटायो

सुनाखरी न्युज/ काठमाडौं ।तामाकोसी पाँचौं जलविद्युत आयोजनाले लगानी जुटाएको छ । दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको निर्माणधिन जलविद्युत कम्पनीले लगानी जुटाएको हो ।

 

आयोजनाले ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागतमा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएपछि उक्त आयोजनाको लगानी व्यवस्थापन भएको हो । कर्मचारी सञ्चय कोषले मात्र करिब ८ सय मेगावाट जलविद्युतमा ४० अर्ब रुपैयाँ लगानी भइसकेको कोषले जनाएको छ । उक्त आयोजनाको बाँकी लगानी साधारण शेयर निश्कासन गरी स्वपुँजी (इक्विटी)बाट जुटाइने कम्पनीले जनाएको छ । आयोजनामा ६५ प्रतिशत ऋणबाट र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको हो ।

 

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा आइतबार नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत कम्पनी र कर्मचारी सञ्चयकोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर गरेका थिए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रमुख प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनोद भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा उत्पादन भएको विद्युत् यहीँ खपत गरी बढी भएको निर्यात गर्न बजार सुनिश्चित हुँदै गएको बताए ।