२०८१ बैशाख १२ , बुधवार

हुम्लाकाे बाह्र सय घरमा बिजुली बल्याे

सुनाखरी न्युज/ काठमाडौं। हिमाली जिल्ला हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका एक हजार दुई सय घरधुरी विद्युतको पहुँचमा पुगेका छन् । टुकी बाल्दै आएका स्थानीयका लागि विद्युत् आयोजना र सोलार मिनिग्रिट निर्माण भएपछि गाउँपालिकाका सबै घरधुरी विद्युतीकरणको पहुँचमा जोडिएका हुन् ।

 

ताँजकोटमा भएका कूल एक हजार दुई सय घरधुरी पूर्णरूपमा विद्युतिकरणको पहुँचमा जोडिएका हुन् । जिल्लाका सात स्थानीय तहमध्ये सिङ्गो गाउँपालिकामा विद्युतीकरण भएको ताँजाकोट पहिलो भएको छ । गाउँपालिकामा एउटा विद्युत् आयोजना र चार स्थानमा सोलार मिनिग्रिट निर्माण भएर विद्युत उत्पादन भई आपूर्ति भएपछि सिङ्गो गाउँपालिकामा विद्युतीकरण भएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए ।

 

त्यसमा आठ सय ५० घुरधुरी जलविद्युतको पहुँचमा जोडिएको र तीन सय ५० घरधुरी सोलारको विद्युतमा जोडिएका हुन् । रु आठ करोड लागतमा कर्पुखोला जलविद्युत् आयोजनाको एक सय १० किलोवाट विद्युत् उत्पादन भएको छ भने रु आठ करोड १६ लाख लागतमा चार स्थान गोठेलवाडा, ची, मदाना र सिरुपाटामा स्थापना भएका सोलार मिनिग्रिडबाट एक सय २५ किलोवाट विद्युत उत्पादन हुँदै आएको छ ।

 

त्यसैगरी वडा नम्बर १ र ३ मा सोलार वितरण गरिएको छ । उत्पादित विद्युतको गाउँपालिकाका सबै घरधुरीमा चौबिसै घण्टा विद्युुत् प्रयोग गर्न सेवाग्राहीलाई सहज भएको छ । पहिले सल्लाको दियालो बाल्दै आएका स्थानीयलाई विद्युुत् आयोजना निर्माण भएर सञ्चालनमा आएपछि सहज भएको छ । विद्युत् आपूर्ति भएपछि फर्निचरलगायत उद्योगसमेत स्थापना भएर सञ्चालनमा आएका छन् ।