२०८१ जेठ १ , मंगलबार

बैदेशिक व्यापार घाटाको खाडल झनझन् गहिरो

New Note

सुनाखरी न्युज/ काठमाडौं । अहिले वैदेशीक व्यापारको आयात–निर्यातबीचको दुरी निक्कै फराकिलो हुँदै गएको छ । करिब डेढ दशकअघि ५९ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा आयात २ खर्ब १३ अर्बको थियो ।

 

मुलुकमा व्यवस्था परिवर्तनसँगै वैदेशीक व्यापार घाटामा पनि सुधार हुने धेरैको अनुमान थियो तर सरकारले ठोस निर्णय लिन नसक्दा ठीक उल्टो भइदियो । यसले मुलुकको अर्थतन्त्र निक्कै चुनौतीपूर्ण रुपमा गुज्रिरहेको जानकारहरु बताउँछन् । सधैँ आयातमुखी अर्थतन्त्रमा मुलुकको निर्वाह चलाउदै आएको सरकारले वैदेशीक व्यापार घाटाको खाडल पुर्नुको सट्टा झनझन् गहिरो बनाउँदै लगेको छ । अहिले करिब विदेशी मुलुकबाट १३ खर्बको वस्तु आयात हुँदा स्वदेशबाट डेढ खर्बको वस्तु मात्र निर्यात हुन सकेको विभिन्न तथ्यांकहरुले देखाएको छ ।

 

यसले पनि बढ्दो वैदेशिक व्यापार घाटाको अवस्थालाई छर्लङ्ग हुने गरी चित्रण गरेको छ । मुलुकलाई कृषि प्रधान देशका रुपमा हेरिएपनि यस क्षेत्रमा प्रयाप्त मात्रामा दक्ष युवा जनशक्ति उतार्न नसक्दा र कृषि क्षेत्रलाई आधुनिकीरण गर्न नसक्दा वर्सेनि कृषिजन्य वस्तुमा परनिर्भरता बढ्दो छ । यस्तै, खनिजजन्य वस्तुको खोज अनुसन्धान र औद्योगिक विकास गर्न नसक्नु, राज्य संयन्त्र प्रभावकारी हुन नसक्नु, विलासिताका महंगा विदेशी सामानहरुको खरिद बढ्नु जस्ता विविध कारणले गर्दा वैदेशिक व्यापार घाटा बढ्दै गएको छ ।

 

अति कम विकसित मुलुकको सूचीमा रहँदा र छिमेकी मुलुकसँगको व्यापारिक सम्झौताका कारण शून्य भन्सार सुविधा पाउँदासमेत निर्यात बढाउन सकिएको छैन । नेपालमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना भएकाले उत्पादन क्षमता वृद्धि गर्दै आन्तरिक खपत बढाएर भारतीय बजार तथा भुटानमा निर्यात गर्न सकेमात्रै पनि व्यापार घाटालाई सन्तुलनमा ल्याउन धेरै मद्दत पुग्ने देखिन्छ ।वैदेशिक व्यापार घाटा न्युनीकरण गर्दै मुलुकलाई अर्थतन्त्रमा मजबुत बनाउन आवश्यक छ । यसका लागि सरकारले अहिले स्वदेश भित्रै उपलब्ध वस्तु तथा सेवाको आन्तरिक उत्पादन बढाउदै दीर्घकालिन सोच र ठोस कार्ययोजनासहित अघि बढ्नपर्ने विज्ञको सुझाव छ ।