२०८१ बैशाख १४ , शुक्रवार

दुई एयर ट्राफिक कन्ट्रोलर कारबाहीमा

सुनाखरी न्युज/ काठमाडौँ । चैत १० गते नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलो दुर्घटना हुने अवस्था टरे पनि नागरिक उड्डयन प्राधिकरणले एयर कन्ट्रोलरका दुई कर्मचारीलाई कारबाही गरेको छ।

प्राधिकरणले उक्त समय कन्ट्रोल रूममा रहेका दुई अधिकारीलाई तत्कालको लागि निष्क्रिय रहन निर्देशन दिएको हो। ती कर्मचारीहरूको नाम खुलाइएको छैन। चैत १० गते शुक्रबार बिहान नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको थियो। मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्स र नयाँदिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज झन्डै ठोक्किएका थिए। १९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासी १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किने अवस्था आएको थियो।

नेपाल एयरलाइन्सको जहाज पनि ७ हजार फिट तल ओर्लिएपछि सम्भावित ठूलो दुर्घटना टरेको थियो। नेपाल एयरलाइन्सको जहाज १५ हजार फिटको उचाइमा होल्ड गरिरहेको बेला एयर इन्डियाको जहाज एक्कासी १५ हजार फिट तल आएको थियो। नेपाल एयरलाइन्सको जहाजलाई विमानस्थलको तल्लो भागमा र एयर इन्डियाको जहाजलाई माथिल्लो भागमा अवतरण गराइएको थियो।