२०८० चैत्र १५ , बिहिवार

मस्र्याङ्दी करिडोर अन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

सुनाखरी न्युज/ काठमाडौं । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।

 

भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् । आयोजनाअन्तर्गत नै लमजुङको खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसनहरु निर्माणाधीन छन् । खुदी सबस्टेसन आगामी ६ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ । भौगोलिक रुपमा विकट र सबस्टेसन निर्माणस्थलमा उपकरणहरु लैजान पहुँच सडकको समस्या रहेकाले धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने छ । पहुँच सडक निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ । नयाँ भरतपुर सबस्टेसनमा सञ्चालन पूर्व गर्नु पर्ने परीक्षणका कामहरु भइरहेका छन् । उदीपुर सबस्टेसनका अधिकांश सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ । सबस्टेसनमा रहने उपकरणहरु निर्माण स्थलमा ढुवानी भइसकेका छन् ।

उपकरणहरु जडान जारी छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरुसँग विस्तृत छलफल गरी सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गर्नुभएको छ । नयाँ भरतपुर र उदीपुर सबस्टेसनमा क्रमश २२०÷१३२ केभी, ३२० एमभिए र २२०÷१३२ केभी, १६० एमभिए तथा १३२÷३३ केभी,५० एमभीए क्षमताका पावर टान्सफर्मरहरु रहने छन् ।

खुदी र धारापानी सबस्टेसनमा क्रमश : २२०÷१३२ केभी,१६० एमभिए तथा १३२÷३३ केभी, ५० एमभिए र २२०÷१३२ केभी, १०० एमभिए तथा १३२÷३३ केभी, ३० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरु रहने छन् । खुदी सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ । ट्रान्सफर्मरलगायतका उपकरणहरु निर्माणस्थलमा ढुवानी सुरु भएको छ । मस्र्याङ्दी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ ।

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानी सम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।