२०८० चैत्र १६ , शुक्रवार

आधाभन्दा बढी नेपालीले खाना पकाउन दाउरा बाल्छन्

सुनाखरी न्युज/ काठमाडौं । नेपालमा अझै पनि आधाभन्दा बढी जनसंख्याले खाना पकाउन दाउरा प्रयोग गर्ने गरेका छन् । शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना–२०७८ का अन्तिम नतिजाले देशका कुल परिवारमध्ये आधा भन्दा बढी (५१ प्रतिशत) परिवारले खाना पकाउन अक्सर काठ÷दाउरा प्रयोग गर्ने गरेको खुलेको हो ।

 

खाना पकाउन अक्सर एल.पी.ग्याँस, बिजुली, गुइँठा/गोरहा, बायोग्यास, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत क्रमशः ४४.३, ०.५, २.९, १.२, ०.०५ र ०.१ रहेको छ । अघिल्लो जनगणनाको तथ्यांकको तुलनामा यस पटक दाउरा प्रयोग गर्नेको संख्या १३ प्रतिशतले घटेको हो । राष्ट्रिय जनगणना २०६८ अनुसार ६४.० प्रतिशतले खाना पकाउन अक्सर दाउरा प्रयोग गर्ने गरेका थिए ।नेपालको कुल जनसंख्या भने २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । त्यस्तै जनगणनाले धेरैजसो घरपरिवारहरुले आफू बसोबास गरेको घर÷आवासीय एकाइमा बत्ती बाल्नका लागि अक्सर बिजुली प्रयोग गर्ने गरेको देखाएको छ ।

 

गत जनगणनामा बिजुली प्रयोग गर्ने परिवार ६७.३ प्रतिशत प्रतिशत रहेकोमा हाल सो अंशमा उल्लेख्य वृद्धि भई ९२.२ प्रतिशत पुगेको छ । बत्ती बाल्नका लागि अक्सर सोलार/सौर्य ऊर्जा, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः ६.६, ०.६, र ०.६ प्रतिशत रहेका छन् । २०६८ मा बत्ती बाल्नका लागि अक्सर मट्टितेल, सोलार र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः १८.३, ७.४ र ६.१ प्रतिशत रहेको थियो ।