२०८० चैत्र १६ , शुक्रवार

सरकारले बैंक ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र धरासायी हुने चेतावनी

सुनाखरी न्युज/ काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धरासायी हुनसक्ने चेतावनी दिएका छन् ।

 

बिहीवार नेपाल-इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले सरकारले बैंकको ब्याजदर तत्काल एकल अंकमा नल्याए मुलुकको अर्थतन्त्र थप धरासायी हुनसक्ने बताएका हुन् । उनले बैंकको ब्याजदर नघटाउने हो भने उद्योग–व्यवसाय पनि फस्टाउन नसक्ने बताए । अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र थप अप्ठ्यारोमा पर्न नदिनको लागि सरकारले फास्ट ट्रयाकमा ब्याजदर घटाउनुपर्ने सुझाव समेत दिए । आर्थिक ऐन नबन्दा र नीतिगत सुधार नहुँदा उधारो कारोवारले थुप्रै उद्योगी व्यवसायीको थाप्लोमा ऋण बढ्दै गएको पनि उनले बताए ।

‘हाम्रो आर्थिक ऐन र नीतिगत सुधार नहुँदा आज उधारो कारोवारले गर्दा थुप्रै उद्योगी व्यवसायीको थाप्लोमा ऋण छ । बजारमा जाँदा पैसा आउँदैन । त्यो कारणले बैंकलाई पनि संकट, उद्योगी व्यवसायीलाई पनि संकट, यस किसिमको संकट निस्तेज पार्नको लागि डिजिटलाइजेशन र नगद कारोबारमा जानुपर्छ,’ अध्यक्ष मल्लले भने, ‘आउने आर्थिक ऐनमा, आउने बजेटमा हामीले ल्याउनैपर्छ । यो नगदमा कारोबार हुनासाथ कुनैपनि व्यवसायीहरुलाई २ प्रतिशत नाफा महिनामा भयो भनेपनि वर्षमा २४ प्रतिशत हुन्छ । बैंकमा गएर तरलताको लागि टाउको दुखाउनु पनि पर्दैन । चालु कर्जा पुँजी दिएन भनेर पनि कराउनु परेन । नयाँ भिजनमा, नीतिमा मुलुकलाई लैजानुपर्छ । ब्याजदरमा जुन किसिमको वृद्धि भएको छ, धेरै नै कठिन हुन्छ, यो ब्याजदरलाई छिटो भन्दा छिटो केही घटाइएन भने, एकल अंकमा झार्न सकेन भने उद्योग व्यवसाय फस्टाउनेवाला छैन । मुलुक अफ्ठ्यारो अवस्थामा पुग्नसक्छ । यसमा गर्नसक्ने कुरा सरकारको तर्फबाट छिटो भन्दा छिटो फास्ट ट्रयाकमा, एक सुका, एक मोहोर गरेर ब्याजदर तलमाथि गर्ने नभइ गर्नसक्ने कुरा गर्नुपर्छ ।’

मल्लले बजारमा तरलता अभावको कारण उद्योगी–व्यवसायीको आर्थिक संकट निस्तेज पार्नको लागि डिजिटलाइजेशन र नगद कारोबारमा जानुपर्ने आवश्यकता रहेको बताए । उनले बैंकहरुले लिने कर्जाको प्रिमियम दरमा समेत व्यवसायीहरु माथि पक्षपात गरिरहेको आरोप लगाए । उनले भने, ‘ब्याजको दर घटाउनु नै पर्छ । बेस रेटमा लिने प्रिमियर पनि लाखापाखा भएका छन्, ठूलालाई चैन, सानालाई ऐन भएको छ । कसैलाई त्यही बेसरेटमा प्रिमियम हाफ प्रतिशत हुने, कसैलाई ५,६ प्रतिशत हुने, कसरी उद्योग व्यवसाय फस्टाउँछ । बेस्ट रेटमा लिने प्रिमियमलाई २ प्रतिशतमा लगाउनुपर्छ, त्यसले नै ब्याजदर घटाउँछ । बेस रेटमा पनि देशको माटो सुहाँउँदो व्यवस्था गरेमा बेस रेट पनि घट्छ । यसको लागि सरकारले आज गरौँला, भोलि गरौँला भनेर हुँदैन । हामीले दिन गन्दा गन्दै मुलुकको अर्थतन्त्र झनै धराशायी हुनसक्छ ।’

 

अमेरिकाका केही बैंकहरु बन्द हुनुको कारण पनि एक्कासि ब्याजदर बढ्नु नै रहेको भन्दै नेपालमा पनि ब्याजदर बढेकोले उद्योगी व्यवसायी मारमा रहेको बताए । उनीहरुले रिन तिर्न नसकेकोले थप संकट आउनसक्नेतर्फ समेत सचेत गराए ।