२०८१ बैशाख १४ , शुक्रवार

वर्ल्डलिंकमा बीआईआई र डोल्मा इम्प्याक्टको २ अर्ब लगानी

सुनाखरी न्युज/ काठमाडौं । बेलायत सरकारको विकास वित्त संस्था ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फन्डले नेपालको इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्समा संयुक्त १ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेका छन् ।

बीआईआईले ८.४ मिलियन डलर अर्थात् १ अर्ब ८ करोड रुपैयाँ बराबरको लगानी गरेको छ । डोल्मा इम्प्याक्ट फन्डले ६.९ मिलियन डलर अर्थात् ९० करोड रुपैयाँ लगानी गरेको छ । इन्टरनेट क्षेत्रमा यो सबैभन्दा ठूलो लगानी रहेको वर्ल्डलिंकले जनाएको छ । यसअघि सन् २०१९ मा पनि वर्ल्डलिंकले प्रत्यक्ष वैदेशिक लगानीका रूपमा बीआईआई (तत्कालीन सीडीसी) बाट १ अर्ब ३५ करोड रुपैयाँ भित्र्याएको थियो । नेपालमा दिगो आर्थिक विकासका लागि डिजिटल रूपान्तरण जरुरी रहेको र त्यसका लागि बेलायतले गरेको लगानी महत्त्वपूर्ण हुने बेलायती राजदूत निकोला पोलिटको भनाइ छ ।

 

संयुक्त लगानीबारे जानकारी दिन सोमबार आयोजित कार्यक्रममा बीआईआईको प्रविधि एवं टेलिकमका प्रबन्ध निर्देशक अभिनव सिन्हाले नेपालमा भरपर्दो र सस्तो इन्टरनेट सेवालाई ग्रामीण क्षेत्रमा पुर्‍याउन, थप रोजगारी सिर्जना गर्न र अर्थतन्त्र वृद्धिमा सघाउन वर्ल्डलिंकले सहयोग गरोस् भन्ने चाहेको बताए । नेपालमा छिटो अवधिमा ठूलो फड्को मार्न सक्ने क्षेत्र डिजिटल उद्योग भएकाले प्रविधि लगानीमा असाधारण वृद्धि देखेको डोल्मा फन्ड म्यानेजमेन्टका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत टिम गोचरले जनाए । ‘ग्रामीण क्षेत्रहरूमा पनि इन्टरनेट पुगोस्, धुन्चे, जुम्लाका मानिसले पनि अनलाइनबाटै काम गर्न सकून् भनेर हामीले वर्ल्डलिंकमा लगानी गरेका हौं,’ उनले भने ।

 

 

काठमाडौं उपत्यका मात्रै नभएर देशका अन्य भेगमा पनि इन्टरनेट सेवा विस्तार गरेर वर्ल्डलिंकले नेपालको डिजिटल रूपान्तरणका लागि पहल गरिरहेको सिन्हाले बताए । ‘यसले गर्दा स्वास्थ्य सेवा, वित्तीय सेवा र नेपालका युवालाई जोड्ने काममा धेरै प्रगति भएको हामीले देखेका छौं,’ उनले भने । प्राप्त सहायतालाई गुणस्तरीय इन्टरनेट सेवा विस्तारमा लगाइने वर्ल्डलिंकका अध्यक्ष एवम् प्रबन्ध निर्देशक दिलीप अग्रवालको भनाइ छ ।