२०८० चैत्र १६ , शुक्रवार

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट

सुनाखरी न्युज/ काठमाडौं । सुनको मूल्य बढ्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ भने घटेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलरभन्दा तल झरेको छ ।

 

शुक्रबार कारोबार बन्द हुँदा डब्लुटीआई तेलको मूल्य प्रतिब्यारेल ६६.७४ डलरमा झरेको छ । कच्चा तेलको मूल्य केही महिनादेखि नै अन्तर्राष्ट्रिय बजारमा ओरालो लागेको छ । ९ महिनाको अवधिमा औसतमा कच्चा तेलको भाउ प्रतिब्यारेल ५० डलर झरिसकेको छ । गत जुन ९ मा डब्लुटीआई तेलको मूल्य प्रतिब्यारेल १२१ डलरसम्म पुगेको थियो । त्यस्तै शुक्रबार मार्स यूस तेलको भाउ ६७.२४ डलरमा झरेको छ । ब्रेन्ट तेल प्रतिब्यारेल ७२.९७ र मुर्बान क्रुडको ७३.८१ डलरमा झरेको छ ।

 

बिहीबारको तुलनामा शुक्रबार मात्रै अधिकांश कच्चा तेलको भाउ २ प्रतिशतले घटेको छ । कच्चा तेलको मूल्यले नेपालको अर्थतन्त्रमै असर पार्दछ । खरिद गरेको कच्चा तेलको मूल्यअनुसार नेपाललाई भारतले प्रत्येक १५–१५ दनिमा नयाँ मूल्य सूची पठाउँछ । कच्चा तेलको भाउ घट्दा नेपालबाट तेलमा बाहिरिने रकम पनि घट्न जान्छ । कच्चा तेलको मूल्य घटेमा महँगी नियन्त्रणमा समेत सघाउ पुग्दछ ।