२०८१ बैशाख ७ , शुक्रवार

यती एयर विमान दुर्घटना जाँच आयोगको ४५ दिन म्याद थप

सुनाखरी न्युज/ काठमाडौं । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझ गर्न गठित आयोगको म्याद ४५ दिन थप गरेको छ ।

 

मंगगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले आयोगको म्याद ४५ दिन थप गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । १ माघमा काठमाडौंबाट गएको यती एयरको विमान पोखरामा दुर्घटना हुँदा सबै ७२ जनाको मृत्यु भएको थियो । सरकारले सोही दिन पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा हवाइ विज्ञहरुसमेत संलग्न ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । सुरुमा आयोगलाई ४५ दिनको समय तोकिएको थियो ।

 

आयोगले ३ फागुनमा प्रारम्भिक प्रतिवेदन दिँदै दुर्घटनाको १४ सेकेण्ड अगाडि पाइलट अञ्जु केसीबाट प्रशिक्षक पाइलट कमल केसीले कमाण्ड लिएको उल्लेख गरेको थियो । जाँच आयोगले काम सक्न बाँकी रहेकाले म्याद थप गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।