२०८० चैत्र १६ , शुक्रवार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा ४४औं पर्यटक प्रहरी दिवस सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा “४४औं पर्यटक प्रहरी दिवस, २०७९” नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा बिहीबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ ।

समारोहमा माननीय मन्त्री किरातीले पर्यटक प्रहरीको गतिविधि सम्बन्धी भिडियोको शुभारम्भ गर्नुका साथै पर्यटक प्रहरीसँग सूचना सम्मलित पकेट डायरी समेत विमोचन गर्नुभयो । सो अवसरमा माननीय मन्त्री किरातीले पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सिमित साधनस्रोतमा पर्यटक प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै पर्यटक प्रहरीलाई आउँदा दिनमा अझ सशक्त बनाउँदै लैजानुपर्ने बताउनुभयो । पर्यटनको विकासमा पूर्वाधारको निर्माणसँगै संस्कारको पनि उत्तिकै महत्व हुने चर्चा गर्दै प्राकृतिक सम्पदा र मानवीय सम्पदालाई सँगै मिसाएर पर्यटकीय वातावरण निर्माणमा सवै सरोकारवाला निकायले आपसी समन्वय गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा माननीय राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले पर्यटन क्षेत्रमा विशेष योगदान पुर्यानउनुहुने विभिन्न संघ संस्थाहरूलाई सम्मानपत्र प्रदान गर्दै पर्यटक प्रहरीलाई अझ बढी सेवामैत्री र जनमैत्री बनाउन आवश्यक कार्ययोजना एवम् नीति तयार गरी सोही अनुरूप आगाडि बढ्नुपर्ने बताउनुभयो । पर्यटनको प्रवर्ध् न, विकास एवम् सम्बृद्धिमा सम्बद्ध निकायहरूले आ-आफ्नो क्षमता तथा दक्षतालाई अझ बढी क्रियाशिल भई प्रदर्शन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई नगद तथा प्रशंसापत्र प्रदान गर्दै नेपाल प्रहरीको महत्वपूर्ण विशिष्टिकृत ईकाईको रूपमा पर्यटक प्रहरीको स्थापना भई पर्यटक प्रहरीले नेपालमा आउने पर्यटकलाई सुरक्षित गन्तव्य हो भन्ने महसुस गराउन उल्लेखनिय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । पर्यटकलाई सेवा विस्तार सँगै उनीहरूको सुरक्षासँग सम्बन्धित बिषयमा प्रहरी संवेदनशील भई कार्यसम्पादन गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक सिंहले पर्यटकको आगमनले देशलाई चिनाउन विशेष अवसर रहन र राष्ट्रको अर्थतन्त्रमा समेत टेवा पुग्ने चर्चा गर्दै नेपालमा रहदा बस्दा आइपर्ने विविध समस्याहरूलाई सहजीकरण एवम् सम्बोधन गरी पर्यटन प्रवर्द्धन गर्न सवै सरोकारवाला निकायको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो । पर्यटक प्रहरीले गर्ने व्यवहारको प्रभाव अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसार हुने र यसले देशलाई नै प्रतिविम्वित गर्न सक्ने हुनाले सकारात्मक सन्देश प्रवाह गर्न नेपाल प्रहरी सदैव कटिवद्ध रहेको उहाँले बताउनुभयो । उक्त समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मसउँद आलम खाँ, नेपाल पर्यटन वोर्डका कार्यकारी निर्देशक डा. धनन्जय रेग्मी लागयतले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै नेपाललाई सुरक्षित पर्यटक गन्तव्यको रुपमा विकास गर्दै लैजानको लागि सबै सरोकारवाला निकायसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक होम प्रसाद लुइटेलले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले स्वागत मन्तव्य तथा पर्यटक प्रहरी सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा पर्यटक प्रहरीको गतिविधी सम्बन्धी भिडियो प्रर्दशन तथा नेपाल प्रहरी संगीत विद्यालयबाट सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरु लगायत पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।