२०८१ बैशाख ७ , शुक्रवार

बैंकको ब्याजदर क्रमशः कम हुँदै गएको छः अर्थमन्त्री पौडेल

सुनाखरी न्युज/ काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरु देखिएको बताउनुभएको छ ।

 

सोमवार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री पौडेलले बैंकहरुको ब्याजदर कम हुँदै गएकाले यसको तिब्रताका लागि आफूहरु लागेको बताउनु भयो । उहाँले महँगो ब्याजदरलाई सीमाभित्र राख्नुपर्छ भन्ने सरकारको सोच भएपनि ब्याजदर र मुद्रास्फितिको सम्बन्ध हुने बताउनु भयो ।

 

अर्थमन्त्री पौडेलले निजी क्षेत्रले वित्तीय क्षेत्रमा पहुँचको माग गरेको भन्दै त्यसमा भएका कमीहरु र समाधानका उपायहरु सरकारलाई दिन आग्रह गर्नुभयो । उहाँले राष्ट्र बैंक स्वायत्त कानूनको आधारमा सञ्चालित स्वायत्त संस्था भएकाले राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसावले हस्तक्षेप नगर्ने बताउनु भयो । अर्थमन्त्री पौडेलले लघु तथा घरेलु साना र मझौला उद्योगको क्षेत्रलाई कसरी प्रवद्र्धन गर्ने र यस क्षेत्रका समस्या कसरी समाधान गर्ने भन्ने सार्थक उपाय खोज्नुपर्ने बताउनु भयो ।

 

उहाँले वर्तमान सरकार कुनैपनि नीति बनाउँदा र निर्णय गर्दा सम्बन्धित क्षेत्रसँग छलफल गरेर मात्रै निर्णय गर्ने पक्षमा रहेको बताउनु भयो । उहाँले सरकार साना उद्योगका समस्या केलाएर निवारणका लागि लाग्ने पनि बताउनु भयो । उहाँले एसएमई क्षेत्रमा नीतिगत अस्पष्टता भए ती क्षेत्रहरुको पहिचान गरी मन्त्रालयलाई बुझाउन पनि आग्रह गर्नुभयो । उहाँले प्रक्रियागत रुपमा देखिएका झन्झटहरुलाई समेटेर सेवाप्रवाह चुस्त बनाउन, पारदर्शी तुल्याउन सरकारलाई आवश्यक सुझाव दिनपनि निजी क्षेत्रसँग आग्रह गर्नुभयो ।

 

अर्थमन्त्री पौडेलले निजी क्षेत्रका कतिपय मागहरु सरकारले सम्बोधन गर्ने काम शुरु भइसकेको बताउनु भयो । उहाँले कर बुझाउन जाँदा दुःख व्यहोर्नुपरेको अवस्थाको गुनासोलाई अब सरकारले सम्बोधन गर्नेपनि विश्वास व्यक्त गर्नुभयो । उहाँले कर्मचारीहरुले कर बुझाउन जाँदा दिएका झन्झटहरुको बारेमा मन्त्रालयलाई जानकारी गराउनसमेत निजी क्षेत्रसँग आग्रह गर्नुभयो । उहाँले राज्यका कुनै पनि निकायले नागरिकलाई हैरान बनाउने काम गर्नु नुहने भन्दै दुःख दिएको पाए कारबाहीको दायरामा ल्याउने बताउनु भयो । आर्थिक क्षेत्रमा देखिएका समस्यालाई सरकार र अर्थमन्त्रालयको मात्र समस्या नठानेर सबैको समस्यका रुपमा लिन पनि निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

अर्थमन्त्री पौडेलले यसअघि आफू अर्थमन्त्री बनेको बेलामा निजी क्षेत्रको समस्या समाधानका लागि स्टार्टअप कार्य योजना ल्याएपनि आफू हटेको लामो समयसम्म पनि कार्यविधि नबन्नु दुखद् भएको बताउनु भयो । उहाँले अब चाँडै नै स्टार्टअप कार्यविधिलाई अघि बढाउने बताउनु भयो । उहाँले स्टार्टअप सम्बन्धी यो कार्यविधि छिटै पारित हुने र कार्यान्वयनमा आउने प्रतिवद्धता जनाउनु भयो । उहाँले परियोजना कर्जा पनि चाँडै नै अघि बढाउने बताउनु भयो । अर्थमन्त्री पौडेलले प्रोजेक्ट फाइनान्सिङको व्यवस्था नगरीकन निजी क्षेत्रलाई अघि बढाउन नसकिने बताउनु भयो ।