सुनाखरी न्युज / सांसदहरुले पाउने सेवा(सुविधा आमचासोको विषय बनेको छ । हाम्रा सांसद्हरुले कति तलब पाउँछन्, राज्यबाट के(के सुविधा पाउँछन् यो सर्वत्र चासो मानिन्छ । नयाँ सांसदहरूको तलब नबढ्ने भएको छ । गत ४ मंसिरमा भएको निर्वाचनबाट निर्वाचित २७५ सांसदको तलब नबढ्ने भएको हो । अघिल्लो निर्वाचनबाट निर्वाचित सांसदहरूले पाएको बराबरकै तलब नयाँ सांसदहरूले पाउने संसद् सचिवालयले जनाएको छ ।
बजेट भाषणमा कर्मचारीहरूको १५ प्रतिशत तलब बढ्ने घोषणा गरिए पनि सांसदहरूको भने नबढ्ने भएको हो । ‘अघिल्ला सांसदहरूले पाएबराबरकै तलब नयाँ सांसदहरूले पाउनुहुन्छ । सांसदहरूको तलब बढेको छैन,’ संसद् सचिवालयको लेखा शाखाका एक अधिकृतले भने, ‘१५ प्रतिशत तलब बढाउन पाइने हो तर बढाइएको छैन ।’
सांसदहरूको तलब बढाउँदा नकारात्मक सन्देश जाने भएकाले नबढाइएको ती कर्मचारीले बताए । ‘जनताको सेवा गर्ने हो । तलब बढाउँदा राम्रो सन्देश जाँदैन,’ ती कर्मचारीले भने ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका छन् । साथै पहिलो चरणमा आठ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ । पुस २५ गते दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ । अहिले प्रतिनिधिसभामा युवा सांसदहरुको उपस्थिति पनि बाक्लो छ । नयाँ दल नयाँ सांसदका कारण संसद्मा कस्तो रौनकता छाउला भन्ने कुतूहल आममानिसमा बढेकै छ ।संसद् सचिवालयका अनुसार सांसदको मासिक तलब ६६ हजार ७० रुपैयाँ हुन्छ । तलबबाहेक सांसदले मासिक घरभाडाबापत १८ हजार पाउँछन् । तर, काठमाडौंमा घर भएकाहरूले भने आधा ९ हजार रुपैयाँ मात्र पाउँछन् ।
त्यसैगरी, सञ्चारमा ३ हजार, बिजुलीपानीका लागि २ हजार र विशेष भत्ता १ हजार गरी मासिक ९० हजार ७० रुपैयाँ सांसदले पाउनेछन् ।समा नियमानुसार करकट्टी हुन्छ । संसद् बैठक बसेको दिन १ हजार र आवातजावतका लागि १ हजार गरी २ हजार रुपैयाँ सांसदले पाउनेछन् । फर्निचरका लागि एकपटक १५ हजार रुपैयाँ दिइने संसद् सचिवालयले जनाएको छ । थप सुविधाका रूपमा सांसदले स्वकीय सचिव राख्न पाउनेछन् । ‘राजपत्रांकित तृतीय श्रेणीसरहको स्वकीय सचिव सांसदले राख्न पाउनुहुन्छ,’ सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भने ।