सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन्। प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड पहिलो पटक गोरखा जान लागेका हुन्। गत मंसिरको चुनावमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
प्रधानमन्त्री प्रचण्ड गोरखा महोत्सव उद्घाटन गर्न बुधबार गोरखा आउने कार्यक्रम तय भएको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले बताए। गोरखा उद्योग बाणिज्य संघले आजदेखि गोरखा महोत्वस गर्न लागेको हो। केही दिनअघि गोरखा उद्योग बाणिज्य संघका पदाधिकारीहरूले प्रमुख अतिथिका रूपमा गोरखा आइदिन प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर निम्तासमेत दिएका थिए। प्रधान सेनापति पनि गोरखा जाने प्रधान सेनापति प्रभुराम शर्मा पनि आज गोरखा जाने भएका छन्।
गोरखाको ठूलो आँगनमा गोरखा नगरपालिकाले राखेको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न प्रधान सेनापति शर्मा बुधबार अपरान्ह ३ बजे गोरखा पुग्ने कार्यक्रम छ।‘प्रधान सेनापतिज्यूले पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रम छ,’ मेयर रानाले भने। गोरखा नगरपालिकाले २० लाख भन्दा बढी खर्च गरेर ठूलो आँगनमा सालिक राखेको छ। यो सालिकमा अब हरेक दिन नेपाली सेनाले सलामी दिनेछ।