सुनाखरी न्युज/ काठमाडौं । तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्नु हुँदै पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य, सु–संस्कृत र समुन्नत मुलुक निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।
उहाँले नेपालको मौलिक सांस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले ल्होसारको शुभकामना दिँदै स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्नुभएको छ ।
विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा साँस्कृतिक अभ्यासका अनुशरण योग्य उदाहरण हुन भन्दै उहाँले ल्होसार पर्वले सामाजिक सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने बताउनु भएको छ । शुभकामना प्रधानमन्त्री प्रचण्डले यस्ता पर्वहरुले नेपालीबीच आपसी सम्बन्ध सुदृढ हुने विश्वास पनि ब्यक्त गर्नुभएको छ ।