२०८२ फाल्गुन २९ , शुक्रवार

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापा भिड्ने

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । दलको नेताका लागि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बुधबार विहान ८ बजेदेखि १० बजेसम्म मतदानको कार्यक्रम छ ।

 

सभापति देउवा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार छन् । १४ औँ महाधिवेशनमा देउवासँग सभापतिको प्रत्यासी रहेका नेता शेखर कोइराला नेतृत्वको समूहले पनि महामन्त्री थापालाई सर्वसम्मत उम्मेदवार बनाएको छ । नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले आफैँ उम्मेदवार बन्ने वा कसलाई सघाउने भन्ने यकिन गरेका छैनन् । अनामनगरस्थित एक होटलमा बसेको कोइराला समूहको बैठकमा नेता कोइरालालाई महामन्त्री थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउन प्रस्ताव गरेका छन् ।

 

बैठकपछि उपसभापति धनराज गुरुङले महामन्त्री थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरेको बताए । त्यही बैठकमा पुगेका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि बदलिएको परिस्थिति र समयलाई मध्यनजर गर्दै थापालाई संसदीय दलको नेता बनाउन आव्हान गरे । ‘बदलिएको समय र सोचबमोजिम कांग्रेसलाई रूपान्तरणको बाटोमा लैजाने खुड्किलोका रूपमा महसुस गर्नुभएको छ भन्ने लागेको छ,’ महामन्त्री शर्माले भने, ‘आशा राखौँ, उम्मेदवारी दर्ताको क्षणसम्म पुग्दा सभापति शेरबहादुर देउवाले पनि शेखर कोइरालाले झैँ वैकल्पिक कुनै नेतृत्वको नाम प्रस्तावित गर्नुहुनेछ । स्वस्थ लोकतान्त्रिक अभ्यासपछि हामी एकढिक्का उभिएर अघि बढ्नेछौँ ।’