२०८१ बैशाख १२ , बुधवार

वास्तु विज्ञान अनुसार घरको कोठामा कस्तो फोटो

सुनाखरी न्युज/ काठमाडौं । घरको आन्तरिक सज्जाले हाम्रो भावनासँग पनि खास सम्बन्ध राख्छ । त्यसैले घरका कोठाहरु आकर्षक र रचनात्मक हुनुपर्छ भनिन्छ । भित्तामा सजाइने फोटो पनि एउटा हिस्सा हो । चाहे त्यो चित्रकारले तयार गरेको पेन्टिङ होस् वा विभिन्न सन्दर्भमा खिचिएको परिवारका सदस्यकै फोटो । त्यसलाई सही ठाउँमा, सही ढंगले सजाउनु जरुरी हुन्छ । जस्तो, दम्पतीको शयन कक्षमा प्रेमिल भाव पैदा गर्ने फोटो उपयुक्त हुनसक्छ भने बच्चाको कोठामा रचनात्मक र ऊर्जावान् बनाउने । भान्सामा भोक जगाउने खालको फोटो राख्न सकिन्छ भने बैठक कोठामा मनोरम दृश्यका ।

 

विभिन्न सन्दर्भमा खिचिएका फोटो पनि आकर्षक र अनमोल हुन्छन् । त्यस्ता फोटोले विगतका रमाइला स्मृतिलाई ताजा गराइदिन्छ । यद्यपि घरको भित्तामा फोटो सजाउँदा केही कुरामा ध्यान दिनुपर्छ । कतिपय यस्ता चित्र हुन्छन्, जसलाई देख्नासाथ हाम्रो मन खिन्न हुन्छ । त्यसबाट हामी भावुक हुन्छौं, दुःखी हुन्छौं, कतिपय अवस्थामा क्रोधित पनि । यस्ता फोटोहरु भने सजाउन हुँदैन । बैठक कोठामा प्राकृतिक मनोरम दृश्यहरू नै राख्नु उचित हुन्छ । घरभित्र प्रवेश गर्ने बित्तिकै हामी बैठक कोठामा प्रवेश गर्छौं, त्यसैले त्यहाँ खुसी र सकारात्मक बनाउने पेन्टिङ राख्नुपर्छ ।’दम्पतीको शयन कक्षमा प्रेम दर्शाउने खालको युगल जोडी चराको पेन्टिङ मायाको संकेत गर्ने खालका फोटोहरू राख्नु राम्रो हो । बालबच्चाको कोठामा उनीहरूको रुचि अनुसारको फोटो राख्नुपर्छ । उनीहरूलाई जनावरहरू मन पर्छ भने जनावरको पेन्टिङ, उनीहरूले आइडल मान्ने व्यक्तिको फोटो र उनीहरूलाई कोही खेलाडी मन पर्छ भने खेलाडीको पेन्टिङ उनीहरूको कोठामा राख्नुपर्छ।

 

घरमा पारिवारिक फोटो, देवीदेवताको फोटो, प्राकृतिक वनजंगल, हिमाल पहाडको फोटो राख्ने चलन बढी छ । पेन्टिङको छनोट गर्दा वास्तुअनुसार भन्दा पनि घरधनीको रुचिअनुसार बढी छनोट गरेको पाइन्छ । घरको भान्सा, शौचालय, आदिमा चाहिं मानिसहरुले वास्तु हेर्छन् । तर पेन्टिङ छनोट गर्दा भने आफ्नो रुचिअनुसार राख्दा राम्रो हुन्छ ।