सुनाखरी न्युज / काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई रिहा गर्न सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।
टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले अध्यादेश ल्याएपछि चौतर्फ विरोध भएको छ।एक बालकसहित ८ प्रहरीको सामूहिक हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेर अदालतबाट दोषी ठहर भइसकेका रेशमसहितलाई छुटाउन सरकारले मुलुकी संहिता नै संशोधन गरेको छ। प्रदर्शनमा सहभागी विद्यार्थीहरुले राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्न बन्द गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
घण्टाघर अगाडि आयोजित कोणसभामा बोल्नेहरुले अपराधीहरुलाई छुटाउन अध्यादेशको सहारा लिन खोजेको भन्दै सरकारको आलोचना गरे । उनीहरुले रेशम चौधरीको बहानामा कांग्रेस नेता मोहम्मद अफ्ताव आलमलाई छुटाउन खोजिएको आशंकासमेत गरे ।