सुनाखरी न्युज/ काठमाडौं ।
भक्तपुर क्षेत्र नं.२ भने एउटै व्यक्तिलाई दोहोर्याउँदैन । यो क्षेत्रबाट यसबीचमा भएका सात वटा आमनिर्वाचनमा कसैले पनि दोहोरिएर जितेका छैनन् । भक्तपुर–२ ले यसपटक पनि नयाँ मान्छेलाई प्रतिनिधिसभामा पठाएर नदोहोर्याएको इतिहास कायम राखेको छ भने नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले कांग्रेसको विरासत फर्काएका छन् ।
थापाले नेकपा एमालेका पोलिट ब्युरो सदस्य महेश बस्नेतलाई ९ सय ५९ मतान्तरले पराजित गरेका छन् । थापाले २४ हजार २३८ मत ल्याउँदा एमालेका बस्नेतले २३ हजार २७५ मत पाएका छन् । जबकि बस्नेतले ०७४ मा १७ हजारभन्दा धेरै मतान्तरले जितेका थिए ।
कुनै बेला यो क्षेत्र कांग्रेसको गढकैरुपमा चिनिन्थ्यो । क्षेत्र नं। १ मा बिजुक्छेकैजस्तै यहाँ कांग्रेसको दलबल थियो । यहाँबाट ०४८ मा नेपाली कांग्रेसका नेता जगन्नाथ आचार्यले चुनाव जितेका थिए । ०५१ को मध्यावधि निवाचनमा नेमकिपाका आशाकाजी बासुकला र ०५६ को निर्वाचनमा पनि कांग्रेसकै लेखनाथ न्यौपानेले चुनाव जिते ।
०६४ मा भने यो क्षेत्र पनि नेमकिपाले खोस्यो, सुनिल प्रजापति विजयी भए । ०७० मा फेरि कांग्रेसका रामेश्वर ढुंगेलले जितेर कांग्रेसको साख फर्काए । तर, ०७४ मा कांग्रेसले स्थानीय कार्यकर्ताको रुचिविपरीत दमननाथ ढुंगानालाई टिकट दिएर पठाउँदा एमालेले ऐतिहासिक जित निकाल्यो, महेश बस्नेत फराकिलो मतान्तरले निर्वाचित भए ।
बस्नेतले क्षेत्रमा आक्रामक शैलीमा काम गरे, चाहे त्यो विकासका काम होस् या त्यसको प्रचार । जसकारण लोकप्रिय छवि बनाएका बस्नेत यसपटक यही क्षेत्रबाट दोहोरिएर जित निकाल्नेमा ढुक्क थिए । तर, माओवादी केन्द्रसमेतको समर्थनमा कांग्रेसका थापाले बस्नेतलाई झिनो अन्तरले रोक्दै कांग्रेसको गढ फिर्ता ल्याएका छन् ।
यही जन्मिएर हुर्केका थापा कटुञ्जेका बासिन्दा हुन् । उनले बाणिज्य शास्त्रमा स्नातक गरेका छन् ।