२०८२ फाल्गुन २९ , शुक्रवार

प्रधानमन्त्रीले देउवाले दिए मतदातालाई धन्यवाद

सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएको भन्दै मतदातालाई धन्यवाद दिएका छन् ।

 

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रुपमा मतदान भएको छ,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘संविधानसभाबाट संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्दै आएका छन् । यो आम निर्वाचनमा तपाईहरूले आफ्नो नागरिक अधिकारको प्रयोग गरिरहँदा दशकौंदेखिको लोकतन्त्रप्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको छ ।’

 

प्रधानमन्त्री देउवाले मतदानमा देखिएको उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको बताएका छन् ।

देउवाले निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

 

देउवाले शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् ।