२०८१ बैशाख १२ , बुधवार

५६ अर्बका नयाँ नोट साटिए

सुनाखरी न्युज/ काठमाडौं ।
यस वर्षको दसैंमा केन्द्रीय बैंकको ढुकुटीबाट करिब ५६ अर्ब रुपैयाँ बराबरको नोट बाहिरिएको छ । राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामार्फत नयाँ र सुकिला (पहिले प्रयोगमा आइसकेका) गरी करिब ५६ अर्ब रुपैयाँ बराबरका नोट बाहिरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जनाए । यो गत वर्ष सोही अवधिमा वितरण गरिएको भन्दा केही बढी हो ।

 

गत वर्षको दसैंमा मात्र राष्ट्र बैंकबाट करिब ५० अर्ब रुपैयाँ नयाँ नोट बाहिरिएको थियो । उल्लिखित रकममा सिक्काको हिसाब हुँदैन । दसैंमा बैंक तथा वित्तीय संस्थाबाट पनि सर्वसाधारणले रकम झिक्छन् । त्यसको सम्पूर्ण विवरण आइनसकेको राष्ट्र बैंकले बताएको छ । ‘साना दरका १६ अर्ब रुपैयाँ र ठूला दरका करिब ४० अर्ब रुपैयाँ गरी शुक्रबारसम्म करिब ५६ अर्ब रुपैयाँ बराबरका नयाँ नोट ढुकुटीबाट बाहिरिएको छ,’ नेपालले भने, ‘दसैंका बेला सर्वसाधारणले पनि आफूसँगै केही पैसा नगदमै राख्न चाहन्छन् ।’ राष्ट्र बैंकले दसैं बिदा सकिएपछि पनि तिहार र छठका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण गरिने बताइएको छ । यसरी दसैंको अवसरमा सटहीका लागि करिब १६ अर्ब र भुक्तानीका लागि ४० अर्ब रुपैयाँ राष्ट्र बैंकबाट बाहिरिएको देखिएको हो ।

 

हरेक वर्ष दसैं, तिहार र छटका लागि वितरण गरेको नयाँ नोट राष्ट्र बैंकमा फर्किंदा पुरानो भएर आउँछ । नागरिकको माग पूरा गर्न राष्ट्र बैंकले ठूलो धनराशि खर्च गर्नुपर्छ । यसरी हरेक वर्ष ठूलो मात्रामा नयाँ नोट छपाइ गर्दा प्रयोग नभएकै अवस्थामा स्टकमा रहेको पुरानो नोटको पनि आयु सकिँदै जाने र नयाँ नोटको आयु पनि सकिँदै जान्छ । यसकारण राष्ट्र बैंकले नगद कारोबारलाई निरुत्साहित गर्दै डिजिटल भुक्तानीलाई प्रोत्साहन दिनुपर्ने जानकारहरूको सुझाव छ ।