२०८१ बैशाख १३ , बिहिवार

अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै

सुनाखरी न्युज / काठमाडौं । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज बुधबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । ट्रडो विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री हुनुहुन्छ ।

 

अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी ट्रडोले नेपालमा रहँदा मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमा जनाएको छ ।अमेरिकाले चीनले नेपालमा अमेरिकी परियोजनाविरुद्ध भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाइरहेको छ । नेपाल भ्रमणमा आउन लागेकी अमेरिकी वरिष्ठ कूटनीतिज्ञ ट्रडोले चीनका तर्फबाट अमेरिका र अमेरिकी मान्यताविरुद्ध फैलाइएका मिथ्या सूचनाको प्रतिवाद कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

 

पछिल्लोपटक नेपालमा अमेरिकाले अघि सारेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे चीनले सामाजिक सञ्जाल र मिडियामार्फत भ्रमणपूर्ण सूचना दिएको आरोप अमेरिकाले लगाएको थियो । तर चीनले उक्त आरोप अस्वीकार गरेको थियो । चीनको नेशनल पिपुल्स कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किनुलगत्तै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्णमा रूपमा हेरिएको छ ।