२०८१ बैशाख १४ , शुक्रवार

नवौं राष्ट्रिय खेलकुदलाई निर्वाचनले प्रभाव पार्दैन : सदस्यसचिव घिसिङ

सुनाखरी न्युज/ पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई निर्वाचनले प्रभाव नपार्ने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले दावी गरेका छन् । सोमबार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रीपरिषदकै बैठकबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएकोले निर्वाचनले यसलाई प्रभाव नपार्ने प्रष्ट पारे । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते हुने तय भएको छ ।

 

‘मन्त्रीपरिषदकै बैठकबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको हो, सोही कारण निर्धारित मितिमानै प्रतियोगिता हुन्छ, निर्वाचनले यसलाई प्रभाव पार्दैन’ सदस्य सचिव घिसिङले भने । प्रतियोगितालाई प्रभावित नर्पानको लागि निर्वाचन आयोगसँग समेत परामर्श गरिएको उनले खुलाए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगितामा ११ टिमले ३६ खेलका ४०७ इभेन्टमा पदकको लागि प्रतिष्पर्धा गर्नेछन् । सात प्रदेश, तीन विभागिय टोली र एनआरएनएको एक टोलीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

 

राष्ट्रिय खेलकुद परिषदले प्रतियोगिताको तयारीमा समेत तिव्रता दिएको घिसिङको भनाई छ । ‘प्रतियोगिताको लागि निर्धारित तालिका अनुसार समयमानै काम भइरहेको, घर्केको छैन’ उनले भने । पोखरा रंगशाला भित्रको फुटबल मैदानको भीआईपी प्यारापिट अबको दश दिन भित्रमा तयार हुने उनको भनाई छ । केही दिनदेखि पोखरामा रहेका सदस्य सचिव घिसिङले पोखरा आसपासका खेलकुद पुर्वाधारको अवलोकन तथा गण्डकी प्रदेशका मुख्यमन्त्री, पोखरा महानगरपालिकाका मेयर लगायतका व्यक्तिसँग प्रतियोगिताको सन्दर्भमा छलफल गरेको समेत बताए ।

 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा धन्यवाद ज्ञापन उपाध्यक्ष सुरज श्रेष्ठ र कार्यक्रम सञ्चालन महासचिव राजाराम पौडेलले गरेका थिए ।