२०८० चैत्र १५ , बिहिवार

मार्लिन मुनरोको बायोपिक फिल्म विवादमा

सुनाखरी न्युज/ काठमाडौं- आगामी २८ सेप्टेम्बरमा नेटफ्लिक्समा फिल्म ‘ब्लन्ड’ रिलिज तयारीमा छ । यो फिल्म हलिउडकी रानी मानिने मार्लिन मुनरोको बायोपिक समेत हो । मार्लिन आफ्नो सौन्दर्य र निजी जिन्दगीको विवादले पनि चर्चामा रहन्छिन् । कुनैबेला यिनको नाम पूर्वअमेरिकी राष्ट्रपति जोन एफ केनेडीसँग जोडिएको थियो ।

 

विवाद र पीडाबीच निधन भएकी मुनरोको बायोपिक फिल्म पनि विवादबाट मुक्त छैन । प्रशंसकले जसले फिल्ममा मुनरोकै चरित्र निर्वाह गरेकी छन्, त्यसमा मुनरोको वास्तविकतासँग मेल नखाने भन्दै विरोध गरिरहेका छन् । एन्ड्रिउ डोमिनिक निर्देशित फिल्म जोएस क्यारल ओट्सद्वारा लिखित सोही नामको बायोग्राफीमा आधारित छ । फिल्ममा मुनरोको चरित्र एना डे आर्मसले निर्वाह गरेकी छन् । तर फिल्मको ट्रेलरमा समेत आर्मसको मुनरो चरित्र चित्रणलाई लिएर प्रश्न उठाइएका छन् । खासगरी यो फिल्मले मुनरोको वास्तविक जीवन र पीडालाई थप पीडादायी तुल्याउने भन्दै विरोध पनि भइरहेको छ । अभिनेत्री आर्मसको चरित्र चित्रणले मुनरोलाई खिल्ली उडाउने काम भएको आरोप छ ।

 

फिल्म ‘ब्लन्ड’ले पीडादायी बाल्यकाल गुजारे पनि सन् १९५० देखि १९६० सम्म नोर्मा जिनी मोर्टेन्सन कसरी हलिउड स्टार बनिन् भन्ने चित्रण गर्छ । उनी स्टेज नाम मार्लिन मुनरोबाट विश्वप्रसिद्ध भइन्, तर उनको अनस्क्रिन उपस्थिति प्रेमका मुद्दाहरु, शोषण, शक्तिको दुरुपयोग र लागूपदार्थको लतले उसको निजी जीवन ओझेलमा पर्‍यो ।