२०७९ श्रावण २५ , बुधवार

कच्चा तेलको मूल्य पाँच महिना यताकै सस्तो

crued oil

सुनाखरी न्युज / काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पाँच महिना यताकै सस्तो भएको छ । नेपालले प्रशोधित रुपमा खरिद गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य शुक्रबार प्रतिब्यारेल ९४ डलर ६३ सेन्ट कायम भएको छ ।

 

ब्रेन्ट कच्चा तेलको मूल्य गत २४ फागुनमा हालसम्मकै उच्च बिन्दु १२४ डलर थियो । कच्चा तेलको मूल्य पाँच महिनायता ३० डलर प्रतिब्यारेलमा घटेपछि यसले नेपाल जस्तो तेलको मूल्यका कारण संकट उन्मुख रहेको अर्थतन्त्रलाई राहत पुग्ने अनुमान गरिएको छ । कच्चा तेलको मूल्य घट्नुलाई तेल उत्पादक तथा आपूर्तिकर्ता मुलुकहरुको संगठन (ओपेक प्लस) को निर्णय प्रमुख मानिएको छ । संगठनले सेप्टेम्बर महिनाका लागि कच्चा तेलको उत्पादन बढाउने दैनिक एक लाख ब्यारेलले बढाउने निर्णय गरेको थियो ।

 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दाको फाइदा नेपालमा सुरु भइसकेको नेपाल आयल निगमले जनाएको छ । अंग्रेजी महिना जुलाईमा मात्रै अन्तर्राष्ट्रिय मूल्य र स्वदेशी खपत दुवैमा भएको कमीले समग्र भुक्तानी मूल्यमै बचत भएको निगमका नायवकार्यकारी निर्देशक एवं लेखा प्रमुख नागेन्द्र साहले बताए । पेट्रोलियम पदार्थको खपत यस अघि दैनिक एक अर्बको रहेकामा उक्त महिना ७० करोडमा झरेको निगमले जनाएको छ । बर्खाका कारण विकास निर्माणको काम नहुने र मानवीय गतिविधि पनि कम हुने भएकाले मासिक खपत नै २४/२५ अर्ब हाराहारी हुने निगमको अनुमान छ । यस अघि यस्तो बिक्री मासिक ३० अर्ब हाराहारी थियो ।

 

इन्धनको मूल्य घट्दा निगमको घाटामा पनि उल्लेख्य सुधार भएको छ । अघिल्लो महिना मासिक ४ अर्ब बढी रहेकामा यो महिना एक अर्ब ३० करोड हारहारी मात्रै घाटा रहने निगमको प्रक्षेपण छ । । इन्धनको मूल्य अझै घट्ने अन्तर्राष्ट्रिय प्रक्षेपणका कारण आउँदा दिनमा यसले अर्थतन्त्रमा अझै सकारात्मक संकेत ल्याउने जानकारहरु बताउँछन् ।