२०८० चैत्र १५ , बिहिवार

कृषकलाई निःशुल्क सुन्तलाका बिरुवा वितरण

सुनाखरी न्युज/ डोटी-

जोरायल गाउँपालिकामा रहेको कृषि विकास कार्यालयले यहाँका नौवटै वडाका कृषकलाई निःशुल्करुपमा सुन्तलाका बिरुवा वितरण गर्न थालेको छ । प्रत्येक वडामा कम्तीमा पनि २०० जना व्यावसायिकरुपमा सुन्तलाखेती गर्ने कृषकलाई निःशुल्करुपमा सुन्तला तथा अमिलो जातका बिरुवा वितरण गर्न सुरु गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।

 

जोरायल क्षेत्र सुन्तला र अमिलो उत्पादनका लागि प्रसिद्ध मानिँदै आएको छ । कृषि विकास कार्यालयले यहाँका विभिन्न नर्सरीमा उत्पादन गरिएका र कृषकको मागका आधारमा जिल्ला बाहिरबाट ल्याइएका सुन्तला तथा अमिलो जातका बिरुवा वितरण गर्ने कार्य सुरु गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत नरेन्द्र ठगुन्नाले जानकारी दिए ।  कृषि विकास कार्यालयले वितरण सुरु गरेका बिरुवामा सुन्तला, कागती, लिची, आँपलगायत रहेका छन् ।

 

सुन्तलाका बिरुवा कम्तीमा एक हजार २०० जति रहेको बताइएको छ । पालिकाभरिका किसानलाई सुन्तला तथा अमिलो लगायतका नगदेखेतीमा आत्मनिर्भर गर्नका लागि निःशुल्करुपमा अमिलो तथा सुन्तलाका बिरुवा वितरण गरिन लागिएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए । रासस