२०८३ मंसिर ३ , बुधवार

आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक, कुनको कति ?

vegetables-tarkari-2082

सुनाखरी न्युज/ काठमाडौं ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज  (बुधबार ) का लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार नेपाली र भारतीय ठूलो गोलभेँडा प्रतिकिलो ७० रुपैयाँमा कारोबार भइरहेको छ । सानो लोकल गोलभेँडा प्रतिकिलो २० रुपैयाँमा उपलब्ध हुँदा टनेल र तराईको सानो गोलभेँडाको मूल्य ४० रुपैयाँ कायम गरिएको छ ।आलु रातो ( लाम्चो र गोलो )  प्रतिकिलो ५० रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ र सेतो आलु ३० रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याजको मूल्य प्रतिकिलो ९५ रुपैयाँ रहेको छ ।

तरकारीतर्फ लोकल गाजर प्रतिकिलो ९० रुपैयाँ र तराईको गाजर ६० रुपैयाँ रहेको छ । लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ र तराईको काउली २५ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ । रातो तथा सेतो मूला प्रतिकिलो ३० रुपैयाँमा उपलब्ध छ ।हरियो तरकारीमध्ये मटरकोसा प्रतिकिलो १०० रुपैयाँ, तने बोडी ९० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, लोकल घिउ सिमी ८० रुपैयाँ र हाइब्रिड घिउ सिमी ६० रुपैयाँ तोकिएको छ । तिते करेला प्रतिकिलो ९० रुपैयाँ, लौका ७० रुपैयाँ, परबर ८० देखि १०० रुपैयाँ र भिण्डी १३० रुपैयाँ कायम गरिएको छ ।

सागसब्जीतर्फ रायो साग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो १२० रुपैयाँ, चम्सुर र मेथीको साग १५० रुपैयाँ तथा तोरीको साग ५० रुपैयाँ रहेको छ । हरियो प्याज प्रतिकिलो २०० रुपैयाँ तोकिएको छ । च्याउमा कन्य च्याउ प्रतिकिलो २६० रुपैयाँ, डल्ले च्याउ ३६० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ एक हजार रुपैयाँ कायम गरिएको छ । कुरिलो प्रतिकिलो ८०० रुपैयाँ रहेको छ । फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३५० रुपैयाँ, जुम्लाको स्याउ ३०० रुपैयाँ र मुस्ताङको स्याउ २५० रुपैयाँ तोकिएको छ । नेपाली तथा मालभोग केरा प्रतिदर्जन १५० रुपैयाँ, अनार प्रतिकिलो ४०० रुपैयाँ र कागती ३०० रुपैयाँ रहेको छ ।

नेपाली तथा भारतीय सुन्तला प्रतिकिलो १०० रुपैयाँ, मौसम २०० रुपैयाँ, जुनार २०० रुपैयाँ र भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ कायम गरिएको छ । मेवा नेपाली ६० रुपैयाँ र भारतीय १०० रुपैयाँ प्रतिकिलो रहेको छ । यसैगरी, किबी प्रतिकिलो ३०० रुपैयाँ, स्ट्रबेरी ५०० रुपैयाँ, ड्रागन फ्रुट ५०० रुपैयाँ र एभोकाडो ३०० रुपैयाँ तोकिएको छ । मसला तथा अन्य कृषि उपजमा अदुवा प्रतिकिलो ९० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, हरियो खुर्सानी ८० देखि २०० रुपैयाँ र हरियो धनियाँ १०० रुपैयाँ रहेको छ । नेपाली तथा चाइनिज सुकेको लसुन प्रतिकिलो २६० रुपैयाँ कायम गरिएको छ ।

माछातर्फ ताजा रहु प्रतिकिलो ३७० रुपैयाँ, बचुवा ३३० रुपैयाँ र छडी माछा ३५० रुपैयाँ तोकिएको छ । सुकेको माछाको मूल्य भने प्रतिकिलो एक हजार रुपैयाँ रहेको छ । समितिले सार्वजनिक गरेको मूल्य थोक बजारको मूल्य हो । खुद्रा बजारमा भने ढुवानी, भण्डारण तथा अन्य खर्चका आधारमा मूल्य फरक पर्न सक्छ ।