२०८० चैत्र १५ , बिहिवार

देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको कोइराला पक्षको आरोप

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ । शुक्रबार सकिएको कोइराला पक्षीय बैठकबारे जानकारी गराउँदै कांग्रेस केन्द्रिय सदस्य डा. गोविन्द पोखरेलले सभापति देउवाले नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको बताउनुभयो ।

 

बैठकमा सरकार सञ्चालन, गठबन्धन, पार्टीको आगामी कार्यदिशा, आगामी निर्वाचन र परराष्ट्रनीतिका बारेमा सरकारले बनाइरहेको धारणा लगायतका विषयमाथि छलफल भएको केन्द्रिय सदस्य पोखरेलले बताउनुभयो । उहाँले सरकारले आफूले गरेका वाचा अनुसार जनतालाई राहत दिन नसकेको, सुशासन सम्बन्धी गरेका राजनीतिक प्रतिवद्धता पूरा गर्न नसकेको पनि बताउनुभयो ।

 

राजश्व अनुसन्धान, सम्पती शुद्धिकरण, राष्ट्रिय अनुसन्धान विभाग लगायत प्रधानमन्त्रीको मातहतबाट हटाउने प्रतिवद्धताको प्रधानमन्त्रीले अवज्ञा गरेको, बजेट बनाउनेदेखि चरमरुपमा आर्थिक सुशासनको खिल्ली उडाइएको कोइराला पक्षले निस्कर्ष निकालेको छ । बैठकले हरेक प्रदेश र पालिकामा काँग्रेसलाई बलियो बनाउने र पार्टी विधानअनुरुप चल्ने कुरामा एक ठाउँमा उभिन जोड दिएको छ ।