२०८० चैत्र १५ , बिहिवार

विपद्को पूर्वतयारी गरेर बस्न गृहमन्त्रीको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभएको छ । बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाँणले विपद्को पूर्वतयारी गरेर सामना गर्नका लागि एकीकृत प्रयास गर्नु सरकारको दायित्व भएको बताउनुभएको हो ।

 

उहाँले प्राकृतिक विपद्का कारण सडकहरुमा क्षति हुँदा जनधनको क्षति हुने, आवात–जावतमा अवरोध हुने र आर्थिक क्रियाकलापमा समेत गम्भिर क्षति पुग्ने भएकाले विपद् प्रतिकार्यका लागि पूर्वतयारीमा रहन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले प्रतिकार्यका लागि उपलब्ध सामग्रीहरुलाई तयारी अवस्थामा राख्न र विपद् परिहालेमा तत्काल त्यहाँ पुगेर आवश्यक भुमिका निर्वाह गर्न पनि निर्देशन दिनुभयो ।

 

उहाँले सरकारको मातहतका सरोकारवाला निकायहरुको पूर्वतयारी सन्तोषजनक रहेको उल्लेख गर्दै अहिले गरिएको तयारीले विपद्को सामना गरी नागरिकको जीवन रक्षा गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विपद्को समयमा सूचना र सञ्चारको तत्काल आवश्यकता पर्ने भन्दै यसतर्फ दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण पनि गराउनुभयो ।