२०८१ बैशाख ७ , शुक्रवार

पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाइयो

सुनाखरी न्युज/ काठमाडौं । सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् ।

 

मन्त्री बडूले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिएका छन् । कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ । सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ ।

 

सुरुमा मन्त्री बडूले डिजेलमा २८ रुपैयाँ घटाइएपछि नयाँ मूल्य १६३ हुन आउने बताएका थिए । तर अहिलेको मूल्य १९२ रुपैयाँमा २८ घटाउँदा १६४ हुन आउँछ । बारम्बार मन्त्री बडूले २८ रुपैयाँ घटाएपछि १६३ भएको बताइरहेपछि नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले २८ घटाउँदा १६४ हुन्छ भनेका थिए । त्यसपछि मन्त्री बडूले डिजेलको नयाँ मूल्य १६३ नै भएको र त्यसका लागि जति घटाउनुपर्ने हो घटाउन निर्देशक थानीलाई निर्देशन दिए । मन्त्री बडूले भने, ‘१६३ नै हो । कति घटाउँदा हुन्छ त्यति घटाउनुस् ।’

 

यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई सुझाव दिएको थियो । नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ । एक्कासि इन्धनको भाउ बढेपछि सरकारमाथि चौतर्फी दबाब आएको थियो । कर कटौती गरेर भए पनि नागरिकलाई राहत दिन सदनदेखि सडकबाट सरकारलाई दबाब दिने काम भइरहेको छ ।