२०८० चैत्र १६ , शुक्रवार

काठमाडौं महानगरले ल्यायो आ.व २०७९/८० का लागि २५ अर्ब ४१ करोडको बजेट

सुनाखरी न्युज/ काठमाडौं –

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

 

शुक्रबार महानगर नगरसभाको एघारौं बैठकमा उपमेयर सुनिता डंगोलले उक्त बजेट आगामी आर्थिक वर्षका लागि पेस गरेकी हुन्। विनियोजित कुल बजेट मध्ये आर्थिक विकास कार्यक्रमका लागि ५० करोड २१ लाख २४ हजार विनियोजन गरिएको महानगरले जनाएको छ ।

 

यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ करोड ६८ लाख ९८ लाख ६० हजार छुट्याइएको छ । पूर्वाधार क्षेत्र विकासका लागि कुल बजेटको ४९.५७ प्रतिशत अर्थात् ११ अर्ब ८ करोड ८९ लाख ३ हजार बजेट छुट्याइएको उपमेयर डंगोलले बताइन् ।

 

बजेट खर्चको स्रोत व्यवस्थापनतर्फ महानगरले सञ्चितकोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार बाहेक सामाजिक सुरक्षा भत्ता, संघीय सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट प्राप्त हुने र स्थानीय सञ्चितिकोष बाहेकको बजेटमा समावेश हुने ३ अर्ब ५ करोड १ लाख ४७ हजार रहेको महानगरपालिकाले जनाएको छ ।