२०८० चैत्र १६ , शुक्रवार

एनआरएनले काठमाडौं महानगरपालिकासँग ट्राफिक व्यवस्थापन र शौचालयका लागि सहकार्य गर्ने

सुनाखरी न्युज/ काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले काठमाडौं महानगरपालिकासँग सहकार्य गर्ने भएको छ। गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलले बिहिबार महानगरपालिकाका मेयर बालेन शाहसँग भेट गरेको हो।

 

भेटमा एनआरएन महानगरपालिकासँगको सहकार्यमा काठमाडौं महानगरपालिकाको स्तरउन्नती, ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइट, आधुनिक सार्वजनिक शौचालय निर्माणमा सहयोग गर्ने भएको छ। गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले आफूहरूले यसअघि ललितपुर महानगरपालिकाको समन्वयमा शंखमुल पार्क बनाएको स्मरण गराएका थिए।

 

त्यस्तै गत वर्ष नै टेण्डर आब्हान गरी बनाउन लागेको सार्वजानिक शौचालय कलंकी सडक विस्तारले जग्गा अधिग्रहण भएपछि स्थगित भएको र यदि काठमाडौं महानगरपालिकाले जग्गा उपलब्ध गराएमा एनआरएनएले दुई वटा सार्वजनिक शौचालय बनाउने र उक्त शौचालय व्यवस्थापनको निम्ति काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन्। त्यस्तै फोहोर व्यवस्थापनको निम्ति विभिन्न देशको उच्चस्तरीय प्रविधिका विषयमा पनि मेयर शाहलाई जानकारी गराएका थिए । गैरआवासीय नेपाली संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले काठमाडौं सिटीलाई ‘स्मार्ट सिटी’ बनाउन सहकार्य र समन्वय गर्न गैरआवसीय नेपाली संघ हरदम तयार रहेको बताए।

 

भेटको क्रममा मेयर शाहले काठमाडौंको कला-संस्कृति, सम्पदालाई विश्व सञ्जालमा चिनाउन गैरआवासीय नेपाली संघलाई आग्रह गरेका छन्। त्यस्तै ‘कुकुर तिहार’ लाई विशेष पर्वको रूपमा विश्वभर मनाउन र त्यो देशको क्यालेन्डरमा उक्त पर्व छपाउन पहल गर्न आग्रह गरेका थिए। गैरआवासीय नेपाली संघले बनाउन लागेको सार्वजनिक शौचालयका लागि जग्गा उपलब्ध गराउन महानगरपालिका सकारात्मक रहेको मेयर शाले आश्वासन दिएका छन्। उक्त भेटघाट कार्यक्रममा युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोपका युवा संयोजक रमेश काफ्ले, आईसीसी सदस्य प्रदीप न्यौपाने लगायतका अभियन्ताको उपस्थिति थियो।