२०८१ बैशाख ६ , बिहिवार

न्यायाधीश र अधिवक्ताबीच २ करोडको डिल भएको अडियो सार्वजनिक भएपछि न्यायपरिषदको बैठक बोलाइयो

सुनाखरी न्युज/ काठमाडौं । न्यायाधीश अधिवक्ताबीचको ‘रकम लेनदेन’को अडियो बाहिरिएसँगै कामु प्रधानन्यायाधीशले न्यायपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

 

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार दिउँसो साढे १ बजेका लागि परिषद्को आकस्मिक बैठक बोलाएका हुन् । सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्ने र त्यसका लागि २ करोड घुस दिने विषयमा नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग डिल गरेको अडियो मंगलबार न्युज २४ टेलिभिजनले प्रसारण गरेको थियो ।

 

उक्त अडियो टेपमा तत्कालीन समयमा नेपाल बार एसोसिएसनमा कोषाध्यक्ष रहेका पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई सम्पर्क गरी २ करोड घुस लिने र त्यसबापत इच्छाराजलाई धरौटीमा छाड्न आग्रह गरेका छन् । कुराकानीका क्रममा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्व अध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेका छन् ।

 

त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पनि साथ हुने भन्दै उनले प्रलोभन दिएका थिए । सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।