२०८० चैत्र १६ , शुक्रवार

चारधाम यात्रामा गएका ६० भन्दा बढीको मृत्यु, मधुमेह र उच्च रक्तचाप भएका बिरामी हुनुहोस् सावधान

सुनाखरी न्युज/ काठमाडौं –

चारधाम यात्रामा गएका ६० भन्दा बढी तीर्थयात्रीको अहिलेसम्म मृत्यु भइसकेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । यीमध्ये ६६ प्रतिशत व्यक्ति मधुमेह र उच्च रक्तचापका बिरामी थिए । केदारनाथ यात्राका बेला सबैभन्दा धेरै मृत्यु भएको छ । भारतीय सञ्चार माध्यम दैनिक भास्करले यसबारे विस्तृत जानकारी दिएको छ ।  यसबारे हामी पनि जानकारी लिऔँ ।

– आखिर किन भइरहेको छ मृत्यु ?

– मधुमेह र रक्तचापका बिरामीलाई किन छ खतरा ?

– चारधाम यात्रामा तपाईं जाने कि नजाने भनेर कसरी थाहा पाउने ?

– यदि एक स्वस्थ व्यक्ति चारधाम यात्रामा जान्छन् भने उनले कस्ता कुराको विचार गर्नुपर्छ ?

सबैभन्दा पहिला जानौँ–

चारधाम यात्रा कहिले सुरु भयो र कुन स्थानमा तीर्थयात्रीले दर्शन गर्छन् ?

चारधाम यात्रा यस वर्ष मे ३ अर्थात बैशाख २० गतेदेखि सुरु भएको हो । यसमा तीर्थयात्री केदारनाथ, बद्रीनाथ, गंगोत्री र यमुनोत्रीको दर्शन गरिरहेका छन् ।

चारधाम यात्रा जानु अघि बिरामी व्यक्तिले के कुरालाई ध्यान दिनुपर्छ ?

– वृद्ध–वृद्धा वा गम्भीर रोगद्वारा पीडित व्यक्ति यात्रामा नजानुहोस् ।

– यात्रामा जानु अघि मुटु र दमका बिरामीले स्वास्थ्य परीक्षण गराउनुहोस् ।

– मधुमेह र उच्च रक्तचापका बिरामी डाक्टरको सल्लाह बिना यात्रामा नजानुहोस् ।

– डाक्टरको अनुमति लिएर जाने बिरामीले पहाडी क्षेत्रमा विशेष सावधानी अपनाउनुहोस् ।

 

मधुमेह र उच्च रक्तचाप भएका बिरामीको मृत्यु किन भइरहेको छ ?

चारै धाम हिमालयको अग्लो पहाडमा अवस्थित छ । जब तीर्थयात्री त्यहाँ पुग्छन् तब अचानक उनीहरुले कम तापक्रम, बढी अल्ट्राभोयलेट रेज, लो एयर र कम अक्सिजनको समस्या झेल्नुपर्ने हुन्छ । यस्तै जमिनमा अक्सिजन र नाइट्रोजनको स्तर सन्तुलनमा रहन्छ । तीर्थयात्री जतिजति पहाड चढ्छन्, त्यति नै अक्सिजनको स्तर कम हुने गर्छ । कम अक्सिजनको शरीरमा विपरित प्रभाव पर्छ र आद्रताका कारण शरीर डिहाइड्रेट हुन थाल्छ ।

 

स्वास्थ्य विज्ञका अनुसार मधुमेह र रक्तचापका बिरामीको शरीरको तापक्रम अचानक फेरिने गर्छ । जसका कारण मुटुको नसा खुम्चिन थाल्छ र रक्तचापमा पनि समस्या आउँछ । यस्तो अवस्थामा पनि मानिस पहाड चढ्न जारी राख्छन् । यसो गर्दा शरीर क्रियाशील भइरहन्छ र मधुमेह र रक्तचापका बिरामीको शरीरमा नकारात्मक असर पर्छ । यी सबै समस्या मृत्युको कारण बन्ने गर्छ ।

 

पहाडमा हृदयाघात हुनुको कारण के हुनसक्छ ?

डाक्टरका अनुसार पहाडमा हुर्के बढेका व्यक्ति र मैदानी इलाकाका व्यक्तिको शारीरिक क्षमतामा अन्तर हुन्छ । अग्लो स्थानमा हावा पातलो हुन्छ । त्यहाँ अक्सिजनको कमी हुन्छ । यस्तोमा मैदानी इलाकामा जन्मिएका हुर्किएका व्यक्तिलाई पहाडमा सास फेर्न समस्या हुन्छ । अक्सिजनको कमीका कारण नै हृदयघात हुन्छ र मानिसको ज्यानसमेत जान्छ ।

 

तीर्थयात्रीका लागि भारतको स्वास्थ्य विभागले पनि गाइडलाइन जारी गरेको छ । यसलाई नजरअन्दाज नगर्नुहोस्ः

– पहिलेदेखि नै बिरामी भएका मानिस आफूसँग डाक्टरको प्रेस्क्रिप्सन, फोन नम्बर र औषधी लिएर जानुहोस् ।

– यात्राका जानु अघि केही दिन बिहान बेलुका हिँड्नुहोस् ताकि यात्रामा धेरै समस्या नहोस् ।

– तीर्थयात्राका लागि पहाड चढ्नुअघि त्यहाँ पुगेर एक दिनको आराम गर्नुहोस् ।

– तातो र ऊनीको कपडा लैजान नबिर्सनुहोस् ।

– रक्सी, चुरोट, गुट्खाजस्ता नशालु चिजबाट टाढै बस्नुहोस् ।

– घामबाट बच्नका लागि सनस्क्रिन ५० एसपीएफ प्रयोग गर्नुहोस् ।

– अल्ट्राभोयलेट किरणले आँखालाई जोगाउनका लागि सनग्लास लगाउनुहोस् ।

– यात्राभरी पानी पिइरहनुहोस् ।

चारधाम यात्रा जाने मधुमेह र उच्च रक्तचापका बिरामीले सावधानी अपनाउनुहोस्ः

– टाउको दुख्ने, बान्ता हुने, रिँगटा लाग्नेलगायतका समस्या हुँदा नजिकैको स्वास्थ्य केन्द्र जानुहोस् ।

यात्राका बेला केही न केही खाइरहनुहोस्, पानी पनि पिइरहनुहोस् ।

लगतार पैदल नहिँड्नुहोस्, बीच–बीचमा आराम पनि गर्नुहोस् ।

मुटुरोग भएका व्यक्ति माथि चढ्दा समस्या भइरहेको छ भने जबर्जस्ती अघि बढ्ने कोसिस नगर्नुहोस् । एजेन्सी